स्याङ्जा । तमु भाषाका आदिकवि स्व. हर्क बहादुर गुरुङको शालिक स्याङ्जाको फेदीखोलामा आइतबार एक कार्यक्रमका विच अनावरण गरिएको छ ।
स्वर्गिय गुरुङको ८४ औं जन्म जयन्तीका अवसरमा उनकै जन्मस्थान फेदीखोला गाउँपालिकाको साल्मेडमा शालिक अनावरण गरिएको हो ।
तमु आदिकावि स्व. हर्क बहादुर गुरुङ स्मृति प्रतिष्ठान फेदिखोला गाउँपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्रि किरण गुरुङले शालिक अनावरण गरेका हुन् ।
कार्यक्रममा बोल्दै मन्त्री गुरुङले तमु भाषामा गीत लेखन, गायनका सुत्रधार स्व. गुरुङको प्रकाशित, अप्रकाशित कृतिको संरक्षणका साथै प्रकाशन जरुरी रहेको उनले भनाई राखे । नेपालमा रहेका विविधता नै पहिचान भएकोले सांस्कृतिक, भाषिक संरक्षण र विकाशमा ध्यान दिनु पर्ने जोड दिँदै मन्त्री गुरुङले स्व. गुरुङको स्मृतिमा स्थापना गरिएको प्रतिष्ठानसँग सहकार्य गर्न प्रदेश सरकार तयार रहेको बताए ।

कार्यक्रममा प्रदेश सभा सदस्य मिन प्रसाद गुरुङले स्व. गुरुङलाई तमुहरुले मात्रै नभई राज्यले नै आदिकवि घोषणा गर्नु पर्ने माग गरे ।
तमु धिं नेपाल अध्यक्ष हुम बहादुर तमुले तमु आदिकवि स्व. हर्क बहादुर गुरुङ शिक्षा, सचेतना, राष्ट्रसेवा, सामाजिक न्यायका सांस्कृतिक अभियन्ता भएको बताए । उनको सिर्जना र जागरण अभियान सबैको लागि उदाहरणीय भएको बताए ।
झण्डै एक रोपनी क्षेत्रफलमा स्वर्गिय तमु आदिकवि गुरुङको शालिक सहित अन्य पूर्वाधार निर्माणको मास्टर प्लान समेत बनिरहेको फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुबेदीले जानकारी दिए । गुरुङको जीवनी सहित केही कृति स्थानिय पाठ्यक्रममा समेत समेटिरहेको अध्यक्ष सुबेदीले बताए ।
कार्यक्रममा बहादुर सिंह गुरुङ र तेज बहादुर चाक्लीले कविता वाचन गरेका थिए भने प्रतिष्ठानका अध्यक्ष अर्जुन गुरुङको अध्यक्षता, निर्माण समितिका संयोजक लाला गुरुङले स्वागत मन्तव्य र प्रतिष्ठानका सचिव अविलास गुरुङले कार्यक्रम संचालन गरेका थिए ।
वि.सं १९९३ माघ ११ गते फेदीखोला गाउँपालिकाको साल्मेमा जन्मेका गुरुङका थुप्रै गुरुङ भाषामा प्रकासित कविताहरु छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, १९ कात्तिक ।पाल्पाली समाज पोखराले शुभदीपावली अवसरमा शनिबार देउसी भैलो कार्यक्रम–२०८३…







