शीतयुद्ध नगर्न विश्वका नेताहरुलाई चिनियाँ राष्ट्रपति सीको चेतावनी


     एभरेस्ट आवाज    
     माघ १३ गते २०७७ मा प्रकाशित




फोटो/एजेन्सी

चिनियाँ राष्ट्रपति सी चिनफिङले शीतयुद्ध नगर्न विश्वका नेताहरुलाई चेतावनी दिएका छन्।

विश्व अर्थतन्त्र मञ्च डोभासको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति सीले कोरोना भाइरसको महामारी नियन्त्रणमा आइनसकेकाले यसको सामना गर्न एकताको आवश्यक रहेकाले शीतयुद्ध नगर्न चेतावनी दिएका हुन्।

उनले शक्तिशाली मुलुकहरुबीच फाटो ल्याउन शीतयुद्ध गर्ने, एकअर्कालाई अस्वीकार गर्ने धम्की दिनेजस्ता गतिविधिले कोरोनाविरुद्धको लडाइँमा सफलता हासिल नहुने बताए। राष्ट्रपति सीले अमेरिकाप्रति लक्षित गर्दै एक अर्का मुलुकको अस्थित्व स्वीकार गर्नुपर्नेमा जोड दिएका हुन्।

अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनको बढ्दो प्रभावलाई रोक्न विश्व संगठनहरुलाई पुर्जीवित गर्ने योजना बनाएको भन्दै राष्ट्रपति सीले त्यसो नगर्न चेतावनी दिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्।

डोनाल्ड ट्रम्प नेतृत्वको अघिल्लो अमेरिकी प्रशासनले सुरु गरेको चीन लक्षित अभियानलाई बाइडेनले पनि निरन्तरता दिनेतर्फ संकेत गर्दै राष्ट्रपति सीले एकअर्काको आन्तरिक मामिलामा हस्तक्षेप गर्दा सम्बन्ध जटिल बन्ने बताएका हुन्।

अन्तर्राष्ट्रिय समाजले दीर्घकालीन दृष्टिबाट प्रतिवद्धतालाई व्यवहारमा उतार्दै विकासोन्मुख मुलुकका लागि आवश्यक समर्थन दिनुपर्ने सीको भनाई छ। उनले विकासोन्मुख मुलुकको उचित विकास अधिकारलाई प्रत्याभूति दिनुका साथै हक अधिकार, अवसर र नियमहरुको निष्पक्षरुपमा पालना गर्नुपर्नेमा जोड दिए।

यस्तो कार्यबाट मुलुकका जनताले विकासको मौका र उपलब्धी संयुक्त रुपमा हासिले गर्ने राष्ट्रपति सीको भनाई थियो।

एजेन्सी


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।