टाइगर कप भलिबलको फाइनल आज

- पुरुषतर्फ गण्डकी र आर्मी, महिलातर्फ विभागीय डर्बी एपीएफ र पुलिस उपाधिका लागि भिड्ने


     एभरेस्ट आवाज    
     फागुन १ गते २०७७ मा प्रकाशित




पोखरामा पहिलो पटक आयोजना गरिएको टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब च्याम्पियनसीप महिला तथा पुरुष भलिबल’ प्रतियोगिताको फाइनल खेल आज (शनिबार) पोखरा रंगशालामा हुँदैछ।

उपाधिका लागि पुरुषतर्फ गण्डकी प्रदेश र विभागीय त्रिभुवन आर्मी क्लब तथा महिलातर्फ दुई विभागीय एपीएफ र नेपाल पुलिस क्लब भिड्दैछ।

टाइगर ग्रुप अफ पोखराको आयोजनामा यही माघ २७ गतेदेखी पोखरा रंगशालास्थित भलिबल कोर्टमा ‘लिग कम नकआउट’का आधारमा सञ्चालन भएको प्रतियोगिता अन्तर्गत शुक्रबार भएको खेलमा गण्डकीले सशस्त्र प्रहरी बलको एपीएफलाई सोझो सेटमा पराजित गरी अंक तालिकाको शीर्ष स्थानमा रहँदै फाइनलको यात्रा तय गरेको हो।

गण्डकीले एपीएफलाई पहिलो सेट २५–२१ मा पराजित गरेको थियो भने दोस्रो र तेस्रो सेट २९–२७ र २५–१५ अंकले पराजित हराएको थियो। यसैगरी, पुरुषतर्फको शुक्रबार नै भएको अर्को खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दे प्रतियोगिताको फाइनलमा स्थान बनायो। आर्मीले २६–२४, २५–२२ र २५–१४ अंकले पुलिसमाथि जित निकालेको थियो।

महिलातर्फको शुक्रबार नै भएको प्रतिस्पर्धामा सशस्त्र प्रहरीको एपीएफ क्लबले न्यू डायमण्ड एकेडेमीलाई सोझो सेटमा पराजित गर्दे फाइनलमा नेपाल पुलिससँगको भेट पक्का गरेको थियो।
सरस्वती चौधरीको उत्कृष्ट प्रदर्शनमा एपीएफले न्यू डाइमण्डलाई पराजित गरेको हो। पहिलो सेट एपीएफले २५–२१ मा जितेकोमा दोस्रो सेट पनि समान सोही अंकमा जित्न सफल भयो भने अन्तिम सेटमा २५–२३ ले जित निकाल्यो।

लिगको अंक तालिकामा एपीएफ र न्यू डायमण्ड दुबैको समान पाँच/पाँच अंक भएपनि अन्तिम खेलमा जित निकालेको र सेटका आधारमा एपीएफ फाइनलमा प्रवेश गरेको टाइगर ग्रुपका सचिव प्रकाश बरालले जानकारी दिए। नेपाल पुलिस क्लब भने लिगको अंक तालिकामा सर्वाधिक ६ अंक जोड्न सफल भई यसअघिनै फाइनलमा स्थान बनाइसकेको छ।

पहिलो खेल महिलाको पुलिस र सशस्त्रको दिउसो १२ बजे तथा पुरुषको गण्डकी र आर्मीबीच दिउसो २ बजे सञ्चालन हुने आयोजकले जनाएको छ।

प्रतियोगिताको विजेता महिला तथा पुरुष टोलीले समान १ लाख ५० हजार, उपविजेता दुबै टोलीले ७५ हजार र तेस्रो हुने टोलीले २५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछ।
यसैगरी महिला तथा पुरुष दुबैतर्फको सर्वोत्कृष्ट खेलाडीले समान २०÷२० हजार पाउनेछन्।

उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेण्डर तथा स्पाइकर महिला तथा पुरुष खेलाडीलाई समान ५/५ हजारका दरले पुरस्कार प्रदान गरिने प्रतियोगिताका प्रचार प्रसार संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिएका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।