,

फेवातालको नयाँ क्षेत्रफल ५.७२ वर्ग किलोमिटर

- फेवातालको चार किल्ला निर्धारण तथा नक्साङन समितिद्वारा प्रधानमन्त्रीलाई प्रतिवेदन पेश


     एभरेस्ट आवाज    
     फागुन ३ गते २०७७ मा प्रकाशित




पोखरा । फेवाताल सिमांकन तथा नक्सांकन समितिले नयाँ क्षेत्रफल सहितको प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ ।

तत्कालिन जिल्ला विकास समिति कास्कीका सभापति पुण्य पौडेलको संयोजकत्वमा गठित सिमांकन समितिले तयार पारेको प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको हो ।

समितिले फेवातालको नयाँ क्षेत्रफल ११ हजार २ सय ५५ रोपनी (५.७२ वर्ग किलोमिटर) सहितको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको समितिका संयोजक पौडेलले जानकारी दिए । संयोजक पौडेलका अनुसार मन्त्रिपरिषद्ले क्षेत्रफलबारे निर्णय सार्वजनिक गर्नेछ ।

समितिले वैज्ञानिक मापदण्ड अनुसार नयाँ क्षेत्रफल तोकेको दावी गरेको छ ।

यसअघि पोखरा उपत्यका नगरविकास समितिका पुर्व अध्यक्ष विश्वप्रकाश लामिछाने संयोकत्वमा गठित आयोगले गरेको अध्ययन अनुसार फेवातालको क्षेत्रफल १२ हजार ८ सय ७४ रोपनी (६.५४ वर्ग किलोमिटर) तोकिएको थियो ।

२०६९ जेठमा तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराई भट्टराईलाई त्यो प्रतिवेदन बुझाइएको थियो । लामिछानेका अनुसार १२ हजार ८ सय ७४ रोपनीमध्ये ९ हजार ९ सय ५५ रोपनी भने पानीले ढाकेको क्षेत्रफल थियो । २०३८ सालमा यूएनडिपीले गरेको अध्ययनले फेवातालको क्षेत्रफल ११ हजार ४०० रोपनी (५.८ वर्गकिलोमिटर) तोकेको थियो । अहिले मापन गरेको क्षेत्रफल २०३८ को भन्दा पनि थोरै छ ।

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी, सिमांकन समितिका संयोजक पौडेल, सदस्य सचिव खिमलाल गौतम सहितका पदाधिकारीले प्रधानमन्त्री ओली समक्ष प्रतिवेदन पेश गरेका थिए । सदस्य सचिव गौतमले प्रधानमन्त्री सामु फेवातालबारे प्रस्तुती राखेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।