भारतमा एकै दिन तीन लाख ८६ हजार कोरोना सङ्क्रमित


     एभरेस्ट आवाज    
     वैशाख १७ गते २०७८ मा प्रकाशित




नयाँ दिल्ली । भारतमा कारोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको दैनिक सङ्ख्या दिन प्रतिदिन बृद्धि हुँदै गएको छ । तिब्र गतिमा फैलिएको कोरोनाभाइरसबाट एकै दिनमा तीन लाख ८६ हजार ४५२ जना सङ्क्रमित भएका छन् ।

कोरोनाभाइरसको महामारी फैलिएदेखि यता गत २४ घण्टामा हालसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयलका अनुसार सोही अवधिमा तीन हजार ४९८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । दैनिक रुपमा सङ्क्रमणमुक्त हुनेहरुको सङ्ख्या पनि बढीरहेको पाइएको छ । पछिल्लो २४ घण्टामा दुई लाख ९७ हजार ४५० जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

देशभरी कुल सङ्क्रमित मध्ये अहिलेसम्म कुल एक करोड ५३ लाख ८४ हजार ४१८ जना सङ्क्रमणमुक्त भएका छन् । भारतमा अहिलेसम्म कुल एक करोड ८७ लाख ६२ हजार ९७६ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । ती मध्ये ३१ लाख ७० हजार २२८ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेको मन्त्रालयको तथ्याङ्क छ ।

भारतको स्वास्थ्य अनुसन्धान परिषदका अनुसार अप्रिल २९ तारिखसम्म देशभरी कुल २८ करोड ६३ लाख ९२ हजार ८६ ओटा स्वाब परीक्षण गरिएको छ । ती मध्ये पछिल्लो २४ घण्टामा १९ लाख २० हजार १०७ जनाको कोरोना परीक्षण गरिएको अधिकारीहरुले जनाएका छन् । भारतमा एकातर्फ महामारी फैलिइरहेको छ भने अर्को तर्फ कोरोनाभाइरस विरुद्धको खोप लगाउने क्रम पनि चलिरहेको छ । सरकारी अधिकारीहरुका अनुसार अहिलेसम्म १५ करोड २२ लाख ४५ हजार १७९ मात्रा खोप खपत भएको छ ।(रासस-एएनआई)


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।