तस्बीर: गुगलबाट
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले चीनको साइनोभ्याक कोभिड खोपलाई आपतकालीन प्रयोगका लागि स्वीकृति दिएको छ।
डब्लूएचओबाट स्वीकृति हुने यो दोस्रो चिनियाँ खोप हो। यसअघि साइनोफ्राम खोपले पनि डब्लूएचओबाट स्वीकृति पाएको थियो।
डब्लूएचओले भनेको छ, ‘आपत्कालीन प्रयोगका लागि स्वीकृति हुनुको अर्थ यो खोपले अन्तर्राष्ट्रिय स्तरमा सुरक्षा, प्रभावकारीता र उत्पादनको गुणस्तर सम्बन्धी मापदण्ड पुर्याएको छ।’
यसले विश्व स्वास्थ्य संगठनको कोभ्याक्स कार्यक्रम पुनः जारी राख्ने ढोका खुलाएको छ। जसले कम आय स्तर भएका मुलुकमा खोपको पहुँच बराबरी सुनिश्चित गर्ने लक्ष्यमा काम गरिरहेको छ। तर, पछिल्लो समय खोपको आपूर्तिमा अभाव हुँदा कार्यक्रम प्रभावकारी रुपमा अघि बढ्न सकेको थिएन।
चीनको यो खोप थुप्रै मुलुकमा प्रयोगमा ल्याइसकिएको थियो। यो खोप १८ वर्षभन्दा माथिकालाई ४ हप्ताको अन्तरमा २ वटा डोज लगाउन भनिएको छ।
यस सम्बन्धी गरिएको रिसर्चमा साइनोभ्याक खोपले लक्षणयुक्त रोग लाग्नबाट जोगाउन सक्ने र गम्भीर बिरामी परि अस्पताल भर्ना हुनुपर्ने स्थितिबाट पनि सत् प्रतिशतले सुरक्षा दिलाउन सकेको पाइएको हो।
डब्लूएचओको यो निर्णयले खोपको आपूर्ति अभावको समस्या समाधान गराउने अपेक्षा गरिएको छ। संगठनकी सह–निर्देशक जेनेरल मेरिएन्जेला सिमाओ भन्छिन्, ‘विश्वलाई अहिलेको खोप अनियमिततासँग लड्न थरीथरी कोभिड खोपको आवश्यकता छ। त्यसैले हामी खोप निर्माताहरुलाई कोभ्याक्स सेवासँग आबद्ध रहन अनुरोध गर्दछौँ। र, खोप निर्माण सम्बन्धी डाटा र उत्पादनहरु आदानप्रदान गरि महामारीलाई छिटोभन्दा छिटो अन्त्य गर्नमा योगदान पुर्याउन आग्रह गर्छौँ।’
चिनियाँ खोप चिली, मेक्सिको, ब्राजिल, इन्डोनेशिया, थाइल्यान्ड र टर्कीमा पनि प्रयोगमा ल्याइसकिएको छ। चीनले देशभित्र र बाहिर गरेर साइनोभ्याकको हालसम्म ६० करोड डोज वितरण गरिसकेको छ। यसबाहेक अतिरिक्त ४३ करोड डोज पनि उत्पादन भइसकेको बताइएको छ।
अन्य खोपको तुलनामा साइनोभ्याकको एउटा प्रमुख फाइदा भनेको यसलाई साधारण फ्रिजरमा २ देखि ८ डिग्री सेल्सियसको तापमानमा स्टोर गर्न सकिन्छ। त्यसैले पनि साइनोभ्याक विशेषगरी विकासोन्मुख देशका लागि अधिक उपयोगी हुनेछ, जहाँ कम तापमानमा ठूलो मात्रामा खोप राख्ने साधनको अभाव हुन्छ।
बीबीसी
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







