इजरायलको राष्ट्रपतिमा आइज्याक हर्जोग निर्वाचित


     एभरेस्ट आवाज    
     जेठ २१ गते २०७८ मा प्रकाशित




तस्बीर: एजेन्सी

इजरायलको राष्ट्रपतिमा वरिष्ठ राजनीतिज्ञ आइज्याक हर्जोग निर्वाचित भएका छन्।

देशको ११औँ राष्ट्रपतिका रुपमा निर्वाचित हर्जोगले १२० सदस्यीय इजरायली संसदबाट ८७ मत प्राप्त गरेका थिए।

इजरायलमा हाल रुभेन रिभलिन राष्ट्रपति छन्। उनको कार्यकाल अर्को महिना समाप्त हुँदै छ।
आलंकारिक मानिने इजरायलको राष्ट्रपतिको कार्यकाल सात वर्षको हुन्छ। हर्जोगले राष्ट्रपतिका अर्का उमेदवार मेरियम पेरेजलाई पराजित गरेका थिए।

चुनावी नतिजा सार्वजनिक भएलगत्तै नवनिर्वाचित राष्ट्रपति हर्जोगले आफू सबै जनताको राष्ट्रपति हुने विश्वास व्यक्त गरे। ६० वर्षीय हर्जोगले भने, ‘हामीले इजरायलको अन्तर्राष्ट्रिय छविलाई सुदृढ गर्नुपर्नेछ र इजरायलविरोधी भावनालाई हटाउन प्रयत्न गर्नुपर्नेछ। साथै, हाम्रो लोकतन्त्रको स्तम्भलाई संरक्षण गर्नुपर्दछ।’

हर्जोग यसअघि लाबोर पार्टीको पूर्वप्रमुख रहनुका साथै सन् २०१५ मा संसद्मा विपक्षी दलका नेता थिए। उनी सन् २०१५ को चुनावमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको विरुद्धमा चुनावी मैदानमा उत्रिएका थिए।

हर्जोग इजरायलको प्रभावशाली जियोनिस्ट परिवारका सदस्य हुन्। उनका बुवा चाइम हर्जोग पनि इजरायलको राष्ट्रपति र संयुक्त राष्ट्रसंघका लागि इजरायली राजदूत थिए। उनका काका अब्बा एबान पनि इजरायलको पहिलो विदेशमन्त्री रहेका थिए।

अर्की उमेदवार ६७ वर्षीया पेरेज बढी अनुदारवादी र राष्ट्रवादी स्वभावकी छन्। उनी मोरक्कोबाट सानैमा इजरायल बसाईँ सरेकी थिइन्। उनले इजरायलमा शिक्षिका, शिक्षाकर्मी र यहूदी धर्मको बारेमा अध्यापकका रुपमा सेवा गरेकी छन्। उनका २ छोराको इजरायली सैनिक सेवामै रहँदा मृत्यु भएको थियो।

सन् २०१८ मा उनलाई इजरायलको सर्वोच्च पदक ’इजरायल प्राइज’बाट सम्मानित गरिएको थियो। राष्ट्रपतिमा निर्वाचित हुन इजरायली संसद् नेसेटको १ सय २० स्थानमध्ये कम्तीमा ६१ स्थान प्राप्त गर्नुपर्छ। विजयी उमेदवारले आगामी जुलाई ९ बाट कार्यभार सम्हाल्नेछन्।

रासस/एपी


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।