भारतमा २ महिनायताकै सबैभन्दा कम दैनिक कोभिड संक्रमण, मृत्यु संख्यामा पनि कमी


     एभरेस्ट आवाज    
     जेठ २४ गते २०७८ मा प्रकाशित




फाइल तस्बीर

भारतमा विगत २४ घण्टामा कोरोना भाइरस (कोभिड)–१९० बाट एक लाख १४ हजार व्यक्ति संक्रमित भेटिएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।

कोभिड–१९ को दोस्रो लहरको मध्यमा दैनिक ४ लाखभन्दा बढी संक्रमित भेटिएकामा पछिल्लो संख्या विगत दुई महिनायताकै सबैभन्दा कम दैनिक संक्रमण हो।

भारतमा यो सहित कूल दुई करोड ८८ लाख व्यक्ति कोभिड संक्रमित भएका छन् जसमध्ये २ करोड ७० लाख संक्रमणमुक्त भएका छन्। कोभिड–१९ को दोस्रो लहरबाट सर्वाधिक असर परेको भारतमा विगत २४ घण्टामा थप २ हजार ६ सय ७७ जनाको ज्यान गएको मन्त्रालयको भनाई छ। यो सहित भारतमा कोभिड–१९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ लाख ४६ हजार ७ सय ५९ पुगेको छ।

भारतमा अझै पनि १४ लाख ७८ हजार व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन्। विगत २४ घण्टामा कूल सक्रिय संक्रमितको संख्यामा ७७ हजारले कमी आएको छ। विगत केही दिनदेखि सक्रिय संक्रमितको संख्यामा पनि कमी आउन थालेको मन्त्रालयले जनाएको छ।

गत जनवरी १६ बाट खोप लगाउन थालेको भारतमा हालसम्म २३ करोड १० लाख डोज खोप लगाइएको छ।

यसैबीच, भारतीय स्वास्थ्य अनुसन्धान परिषदले देशभर हालसम्म ३६ करोड ४० लाख नमुना परीक्षण गरेको जनाएको छ।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।