विश्वकप छनोटः नेपाल बाहिरियो, जोर्डनसँग ३–० ले पराजित

- एक मात्र गल्तीले नतिजा फरक आयोः मुख्य प्रशिक्षक अलमुताइरी


     एभरेस्ट आवाज    
     जेठ २५ गते २०७८ मा प्रकाशित




तस्बीरः एन्फा

विश्वकप तथा एसियन कप फुटबल छनोट खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ।

कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय मैदानमा भएको खेलमा नेपाल जोर्डनसँग ३–० को फरक गोल अन्तरले ले पराजित बन्यो।

जोर्डनको जितमा बाहा फाइजल सिफले २ र याजन अल अरबले १ गोल गरे। नेपालका रोहित चन्दले जोर्डनका मौसा मोहमद सुलेमानलाई लडाएपछि पाएको पेनाल्टीमार्फत खेलको २४ औं मिनेटमा जोर्डनले सुरुवाती गोल गरेको थियो।

त्यसपछि ४९ औं मिनेटमा बाहा फाइजलले र ६७ औं मिनेटमा याजनले गोल गरे। यसअघि, गएको अक्टोबरमा पहिलो चरणको खेलमा घरेलु मैदानमै पनि जोर्डनले नेपाललाई ३–० गोलले नै हराएको थियो।

हारसँगै नेपालको विश्वकप छनोटको संभावना सकिएको छ। एसियन कप छनोटको तेस्रो चरणमा पुग्ने आशा भने गणितीय रुपमा कायमै रहेको छ। एसियन कपको तेस्रो चरणमा पुग्न नेपालले आउँदो शुक्रवार अष्ट्रेलियासँगको खेल जित्नैपर्ने हुन्छ।

एक गल्तीले नतिजा फरक – अलमुताइरी

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पहिलो हाफमा गरेको एकमात्र गल्तीले जोर्डनविरुद्धको खेलको नतिजा फरक आएको बताएका छन्।

तस्बीरः एन्फा

पहिलो हाफमा गरेको एक मात्र गल्तीले नतिजा फरक परेको विश्वकप छनोट अन्तर्गत जोर्डनविरुद्धको खेलपछि प्रशिक्षक अलमुताइरीले जिकिर गरेका छन्।

‘हामीले राम्रो खेल्यौ। पहिलो हाफमा एउटा मात्र गल्ती गर्न पुग्यौँ। त्यो गल्ती नगरेको भए सायद खेलको नतिजा फरक हुने थियो होला। हामीले गरेको गल्ती जोर्डनका लागि उपहार जस्तै बन्यो,’ प्रशिक्षक अलमुताइरीले भनेका छन्।

‘पहिलो हाफमा गरेको एउटा गल्तीका कारण जोर्डनले विश्राम लिएर खेल्न पायो,’ उनले भने।
खेलको २३ औं मिनेटमा जोर्डनले पेनाल्टी पाएको थियो । पेनाल्टी क्षेत्रको दायाँ भागमा डिफेन्डर रोहित चन्दले जोर्डनका खेलाडीलाई लडाएपछि रेफ्रीले पेनाल्टीको इसारा गरेका थिए । सोही पेनाल्टीमा गोल गर्दै जोर्डनले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो।

प्रशिक्षक अलमुलाइरीले हारको सम्पूर्ण जिम्मेवारी आफूले लिने बताएका छन्। उनले नेपाली समर्थकलाई हारको दोष खेलाडीलाई नदिन आग्रह समेत गरेका छन्। उनले यस खेलमा राम्रो खेलेको दाबी गर्दै आउने खेलमा अझ सुधारिएको प्रदर्शन गर्ने विश्वास व्यक्त गरे। प्रशिक्षक अलमुताइरीले अष्ट्रेलियाविरुद्धको खेलमा पनि नेपालले सन्तुलित खेल खेल्ने बताएका छन्।

कुवेतले रक्षात्मक खेल खेल्दापनि अष्ट्रेलियासँग ३–० को हार बेहोरेको बताउँदै उनले आफुले त्यस्तो हार नचाहने बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।