मुख्यमन्त्री पोखरेलद्वारा मन्त्री परिषद गठन


     एभरेस्ट आवाज    
     जेठ २९ गते २०७८ मा प्रकाशित




गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सपथ लिएका छन् । पोखरेलले शनिबार राती ८ः३० बजे प्रदेश प्रमुख सीताकुमारी पौडेलबाट सपथ लिएका हुन् ।

सपथ लगत्तै मुख्यमन्त्री पोखरेलले मन्त्री परिषद गठन गरेका छन् । उनले आफूलाई समर्थन गर्ने सबै दलका एक÷एक जना समेटेर आफूसहित ५ सदस्यीय मन्त्री परिषद गठन गरेका हुन् ।

मुख्यमन्त्री पोखरेलले नेपाली कांग्रेसबाट कास्कीका कुमार खड्का, नेकपा माओवादी केन्द्रबाट लमजुङकी मधु अधिकारी गुरुङ, जनता समाजवादी पार्टी (जसपा)बाट गोरखाका सांसद हरिशरण आचार्य र मनाङबाट निर्वाचित स्वतन्त्र सांसद राजिव गुरुङ उर्फ दीपक मनाङेलाई मन्त्रीमा नियुक्त गरेका छन् । मन्त्रीमा नियुक्त कसैलाईपनि मन्त्रालयको जिम्मेवारी नतोकि बिना विभागीय मन्त्रीमा नियुक्त गरिएको जनाइएको छ । मन्त्रीमा नियुक्त खड्का यसअघी संघ सरकारका महिला, बालबालिका तथा समाज कल्याणमन्त्री भइसकेका हुन् । त्यस्तै लमजुङकी अधिकारी सहीद पत्नी हुन् । उनले यसअघी सभामुखमा पनि दाबी गरेकी थिईन् । गुण्डा नाईकेका रुपमा छवी बनाएका स्वतन्त्र सांसद मनाङे यसअघी पृथ्वी सुब्बा गुरुङ मुख्यमन्त्री हुँदा २ पटक युवा तथा खेलकुदमन्त्री बनेका थिए । उनी डेढ महिनाको अवधीमा तेश्रो पटक मन्त्री बनेका हुन् । यसअघी पृथ्वी सुब्बा गुरुङ मुख्यमन्त्री हुँदा बैशाख १६ गते पहिलो पटक मन्त्री बनेका उनी बैशाख २९ गते अल्पमतको सरकार बन्दापनि मन्त्री बनेका थिए ।

नवनियुक्त मन्त्रीहरुले शनिबार राती नै सपथ लिएका छन् । उनीहरुलाई मुख्यमन्त्रीको उपस्थितिमा प्रदेश प्रमुख पौडेलले सपथ खुवाएकी थिईन् ।

पोखरेललाई समर्थन गर्ने मध्येको एक दल जनमोर्चा भने सरकारमा नजाने भएको छ । जनमोर्चाको केन्द्रीय नीति नै बिपक्षी गठबन्धनलाई समर्थन गर्ने तर सरकारमा नजाने नीति रहेकाले आफूहरु सरकारमा नगई बाहिरै बसेर समर्थन गर्ने जनमोर्चा संसदीय दलका नेता पियारी थापाले बताईन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।