, , ,

कास्कीमा जारी निषेधाज्ञा केही सहज बनाउँदै असार ७ गतेसम्म बढ्यो


     एभरेस्ट आवाज    
     जेठ ३० गते २०७८ मा प्रकाशित



पोखरा । कास्कीमा करिव डेढ महिनादेखि जारी निषेधाज्ञालाई केही सहज बनाउँदै थप एक साता बढाउने निर्णय भएको छ ।

आइतबार बसेको जिल्ला कोभिड–१९ व्यवस्थापन समिति डीसीएमसीको बैठकले जिल्लामा कोरोना संक्रमणदर र मृत्युदरमा अपेक्षाकृत नियन्त्रणमा आइनसकेको निष्कर्ष निकाल्दै जारी निषेधाज्ञालाई केही सहज बनाउँदै असार ७ गतेसम्म बढाउने निर्णय गरेको हो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले  बैठकको निर्णय सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । गौतमका अनुसार अब तरकारी तथा खाद्यान्न पसल बिहान ५–१० बजेसम्म सञ्चालन हुने छन् । विकास निर्माणका पसलहरु साँझ ५ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन गर्न पाउने गरि अनुमति दिइएको छ ।

प्रशासनले खाद्यान्न, तरकारी, पानी, फलफूल, दुध जस्ता दैनिक उपभोग्य वस्तु नजिकको पसलबाट मात्र खरिद गर्न भनेको छ। त्यसका लागि सवारी साधन प्रयोग गर्न पाइने छैन । फलफूल तथा तरकारीको थोक बिक्रेताले खुद्रा बिक्री वितरण गर्न पाउने छैनन् । ताजा दुध बेलुका ५ देखि ७ बजेसम्म नजिकको चिस्यान केन्द्र एवं संकलन केन्द्रमा पुर्याउन रं बिक्री वितरण गर्न पाइने ब्यवस्था गरिएको छ ।

यस्तै सरकारी मान्यता प्राप्त आयोजना र निजी निर्माण कार्य स्वास्थ्य मापदण्डको पालना गरि अनावश्यक भिडभाड नहुनेगरि प्रवन्ध मिलाई सञ्चालन गर्न सकिने जनाएको छ । त्यसका लागि निर्माण कार्यमा संलग्न कर्मचारी तथा श्रमिकलाई उद्योग परिसर वा निर्माण स्थल नजिकै खान र बासको व्यवस्था गर्न आदेशमा उल्लेख गरिएको छ । भने निर्माण सामाग्री ढुवानी गर्ने सवारी साधनहरुले बेलुका ७ बजेदेखि विहान ५ बजेसम्म ढुवानी गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
साथै प्रशासनले सो अवधीमा औषधी एवम् स्वास्थ्य सामाग्रीका पसहलहरु भने २४ सैं घण्टा खोल्न सक्ने जनाएको छ ।

त्यसैगरी सर्वसाधारणले औषधि, खाद्यवस्तु, तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदका लागि अत्यावश्यक सेवा लिनुपर्दा बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्किन पाउने छैनन् । अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा (बढीमा २ जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधन मात्र सञ्चालन गर्न पाइने छ । जिल्लाभित्र सञ्चलान हुने सबैप्रकारका सार्वजनिक यातायातका साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ ।

विवाह, ब्रतबन्ध होटल र पार्टी प्यालेसमा गर्न रोक लगाइएको छ । घरमा विवाह व्रतबन्ध लगायतका कार्य गर्दा दश जनाभन्दा बढी उपस्थित हुन नपाइने र एकमात्र सवारी साधनमा ५ जना मात्र सवार हुन पाउने प्रशासनको आदेशमा उल्लेख गरिएको छ ।

बैंक तथा वित्तीय संस्थाले ५० प्रतिशत कर्मचारी राखेर ५० प्रतिशत शाखामात्र निक्षेप ५० हजार बढी, चेक भुक्तानी, क्लियरिङ र विप्रेषण सेवामात्र बिहान ११ देखि दिउँसो २ बजेसम्म सञ्चालन गर्ने पाउने जनाइएको छ । बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीलाई परिचयपत्र र कार्यालय पोशाक आधारमा बिहान १० देखि साढे ३ सम्म आवत–जावत गर्न सक्नेछन् ।

साथै उल्लेखित आदेशको अवज्ञा गरेको पाइएमा स्थानिय प्रशासन ऐन २०२८, संक्रमक रोग ऐन २०२०, कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ एवम् अन्य प्रचलित कानून बमोजिम कारवाही हुने समेत प्रशासनले चेतावनी दिइएको छ ।

यसअघि कास्कीमा पहिलो पटक वैशाख १५ गतेराति १२ बजेदेखि जारी गरिएको निषेधाज्ञा पटक–पटक लम्बाउँदै असार ७ गतेसम्म पुगेको हो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।