,

गण्डकी प्रदेश सरकारले सबै नागरिकलाई कोभिड–१९ खोप सुनिश्चित गर्ने

- सबै जिल्ला अस्पतालमा २ देखि ५ शैयाको सघन उपचार कक्ष निर्माण गर्ने


     एभरेस्ट आवाज    
     असार १ गते २०७८ मा प्रकाशित



फाइल तस्विर

पोखरा । गण्डकी प्रदेश सरकारले प्रत्येक नागरिककलाई कोरोना विरुद्धको खोप सुनिश्चित गर्ने भन्दै खोप खरिदका लागि आवश्यक बजेट बिनियोजन गरेको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले बताएका छन् ।

अर्थ मन्त्रालयसमेत सम्हालेका मुख्यमन्त्री पोखरेलले मंगलबार गण्डकी प्रदेश सरकारका तर्फबाट प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्दै उनले कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचारका लागि आवश्यक श्रोत र साधनको सुनिश्चित गर्नेगरी बजेट विनियोजन गरेको बताएका हुन् ।

सरकारले संक्रामक तथा सरुवा रोग अस्पतालमा अत्याधुनिक प्रविधिसहितको सुविधा सम्पन्न भवन निर्माण गरि सेवा बिस्तार गर्न, स्तन क्यान्सर, पाठेघरको मुख क्यान्सर र पाठेघरको शल्यक्रियामा लाग्ने खर्च प्रदेश सरकारबाट बेहोर्ने, दुर्गम क्षेत्रका जटिल अवस्थामा रहेका गर्भवती र सुत्केरी महिला तथा नवजात शिशुको उद्धार गरि अस्पतालसम्म पु¥याउन एयर लिफ्टिङ कार्यक्रमलाई प्रभावकारी ढंगले अगाडि बढाउन बजेट विनियोजन गरिएको बताए ।

शिशु, बालबालिका, किशोरी, अपाङ्गता भएका व्यक्ति र गर्भवतीको पोषण स्थितिमा सुधार ल्याउन बहुक्षेत्रीय सुधार कार्यक्रमलाई निरन्तरता दिदै १ करोड ५० लाख बजेट विनियोजन गरिएको बताए ।

यसका साथै सरकारले प्रदेशका सबै जिल्ला अस्पताललाई २५ देखि ५० शैया र धौलागिरी अस्पताललाई २ सय शैयाको जनरल अस्पतालमा स्तरोन्नती गर्ने तथा सबै जिल्ला अस्पतालमा २ देखि ५ शैयाको सघन उपचार कक्ष निर्माण कार्य गर्ने भन्दै सोका लागि बजेट विनियोजन गरेको छ ।

सरकारले ५० शैया भएका अस्पतालमा आँखा उपचार सेवा, मिर्गौला पीडित विरामीका लागि डायलाईसिस सेवा र ज्येष्ठ नागरिक उपचार वार्ड सञ्चालन गर्ने कार्यक्रमलाई निरन्तरता दिदै बजेट विनियोजन गरेको छ ।

सरकारले मुख्य राजमार्गमा पर्ने नवलपुरको मध्यविन्दु अस्पताल, तनहुँको दमौली अस्पताल, बागलुङको धौलागिरी अस्पताल र स्याङ्जाको भीरकोट नगर अस्पताललाई ट्रमा सेन्टरको रुपमा स्तरोन्नती गर्नका लागि बजेट छुट्याएको छ । गोरखाको आँपपिपल अस्पताललाई ५० शैयाको अस्पताल बनाउन प्रक्रिया अगाडि बढाउने जनाइएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।