स्कटल्याण्डका नेपालीद्वारा पश्चिमाञ्चल अस्पताललाई पाँच थान अक्सिजन कन्सन्ट्रेटर


     एभरेस्ट आवाज    
     असार ४ गते २०७८ मा प्रकाशित




पोखरा । कोभिड–१९ राहत सहयोग समिति स्कटल्याण्डले पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई बिहीबार पाँच थान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको छ ।

गैरआवासीय नेपाली संघ मार्फत खरिद गरिएको २० थान अक्सिजन कन्सन्ट्रेटरमध्ये पाँच थान उक्त अस्पताललाई हस्तान्तरण गरिएको हो ।

जर्मनीमा निर्मित १० लिटर क्षमता भएको उक्त कन्सन्ट्रेटर पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक प्राडा भरतबहादुर खत्रीलाई हस्तान्तरण गरिएको हो । प्रडा खत्रीले स्कटल्याण्डका नेपाली संघसंस्था तथा व्यक्तिहरुले गरेको सहयोगप्रति अस्पताल निकै आभारी भएको बताए । सहयोग प्राप्त कन्सन्ट्रेटरले कोरोना संक्रमितको उपचारमा निकै ठूलो मद्दत पुग्ने डा खत्रीले बताए ।

उक्त कार्यक्रममा कोभिड–१९ राहत सहयोग समिति स्कटल्याण्डका प्रतिनिधि प्रकाश अर्याल, स्थानीय समाजसेवीहरू रामजी बराल, विष्णु बराललगायतले बोलेका थिए ।

कोभिड–१९ राहत सहयोग समितिमा गैरआवासीय नेपाली संघ स्कटल्याण्ड, नेपाल स्कटल्याण्ड एसोसिएसन,ग्लास्गो नेपाली एसोसिएसन, स्कट स्पोर्टस् क्लब, दियो क्लब, नेपाल स्कटिस सोसाइटी, हिमालयन आर्टस् एण्ड कल्चरल सेन्टर, फाइफ नेप्लिज नेपाली एसोसिएसन, नेपाली साउथ साइड कम्युनिटी ग्लास्गो, फोर्थ भ्याली नेपाली एसोसिएसन, जिएस आर्टस् कल्चर, हरियाली आमा समूह, अर्गनाइजेसन फर नेप्लिज कल्चर एण्ड वेलफेयर, नेप्लिज हिमालयन एसोसिएसन स्कटल्याण्डको संलग्नता रहेको छ ।

अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि स्कटल्याण्डमा रहेका नेपालीहरूबाट व्यक्तिगतरूपमा सहयोग समेत प्राप्त भएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।