तस्बीरः एजेन्सी
अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानका शीर्ष नेताहरूसँग दिगो साझेदारी गर्ने प्रतिवद्धता जनाएका छन्।
अफगानिस्तानमा सक्रिय तालिबानीको हिंसात्मक कारबाही जारी रहेकै अवस्थामा अमेरिकी र नेटो फौज स्वदेश फर्कन लागेपछि दुई देशका शीर्ष नेताहरूबीच पछिल्लो घटनाक्रमबारे शुक्रबार साँझ समीक्षा गरिएको छ।
अफगान राष्ट्रपति अश्रफ घानी र राष्ट्रिय मेलमिलापका लागि उच्च परिषदका अध्यक्ष अब्दुल्ला अब्दुल्लाहले ह्वाइट हाउसमा राष्ट्रपति बाइडेनसँग भेट गर्नुअघि रक्षामन्त्री लोयड अस्टिनसँग पेन्टागनमा अफगान सुरक्षा मामिलाबारे छलफल गरेका थिए। राष्ट्रपति बाइडेनले अफगानिस्तानलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेपनि अमेरिकी सेना स्वदेश फर्कने समय आइसकेकामा जोड दिएका थिए।
‘अफगानिस्ताने आफ्नो भविष्यको निर्णय आफैं गर्नु पर्दछ,’ राष्ट्रपति बाइडनले अफगान नेताहरूसँगको आफ्नो भेटको शुरुमा संक्षिप्त टिप्पणी गर्दै भने।
राष्ट्रपति बाइडनले दिगो साझेदारी के हुन सक्छ भन्ने बारेमा विस्तृत वर्णन दिन चाहेनन्। बाइडेन प्रशासनले आगामी सेप्टेम्बर ११ भन्दा अघि नै अफगानिस्तानमा तैनाथ अमेरिकी सेना स्वदेश फर्काइसक्ने गरी तयारी भइरहेको अवस्थामा अफगान नेताहरू वासिङ्टन पुगेका हुन्।
अफगानिस्तानमा अमेरिकी सेना बस्न थालेको २० वर्ष पुग्न लागेको छ। यस अवधिमा अमेरिकी र अफगानी सेना तथा सर्वसाधारणको ठूलो संख्यामा हत्या एवं मृत्यु भएको छ भने लाखौं विस्थापित भएका छन्।
राष्ट्रपति घानीले शुक्रबार नै अमेरिकी संसदकी सभामुख नान्सी पेलोसी र रिपब्लीकन पार्टीका सांसदहरूसँग पनि भेटघाट गरेका थिए। उनले सिनेटमा रिपब्लीकन नेता मिच म्याक्कोनेलसँग पनि भेट गरे।
अमेरिकी रक्षा विभागका अनुसार सन् २००१ देखि जारी अफगान युद्धमा २ हजार ४ सय भन्दा बढी अमेरिकी सैनिकको मृत्यु हुनुका साथै २० हजारभन्दा बढी घाइते भएका छन्। युद्धका क्रममा ३ हजार ८ सय भन्दा बढी अमेरिकी निजी सुरक्षागार्ड पनि मारिएको विभागको भनाई छ।
यस युद्धबाट अफगानी सर्वसाधारण अझ बढी प्रताडित भएका थिए। युद्धमा ६६ हजार भन्दा बढी अफगानी सेनाको ज्यान गएको थियो भने २७ लाखभन्दा बढी मानिस विस्थापित भएका थिए। उनीहरुमध्ये अधिकांश इरानतर्फ पलायन भएका थिए।
अमेरिकी सेनाको सबैभन्दा ठूलो हिस्सा स्वदेश फर्किए पनि अमेरिकी कुटनीतिज्ञको सुरक्षाका लागि करिब ६ सय ५० जना सैनिक मात्र अफगानिस्तानमा तैनाथ हुनेछन्। अमेरिकी अधिकारीहरूका अनुसार अर्को २ साताभित्र कुटनीतिज्ञहरुको सुरक्षा व्यवस्था टुंगो लाग्नेछ।
केही सय अतिरिक्त अमेरिकी फौज काबुल विमानस्थलमा सेप्टेम्बरसम्म रहने सम्भावना छ। उनीहरुले टर्कीका सेनालाई आवश्यक सुरक्षा प्रदान गर्नेछन्। समग्रमा, अधिकारीहरुले अमेरिकी र गठबन्धनको सैन्य कमान्ड, यसको नेतृत्व र अधिकांश सैनिकहरु जुलाई ४ सम्ममा वा त्यसको केही समयपछि फिर्ता हुने योजना रहेको बताएका छन्। यो योजना केही महिना अघि नै तयार भइसकेको बताइएको छ। यद्यपी, सैन्य फिर्ता सम्बन्धी विस्तृत विवरण दिन अमेरिकी अधिकारीहरुले अस्वीकार गरेका छन्।
पछिल्लो समय अफगानिस्तानमा ४ हजारको हाराहारीमा अमेरिकी सेना बाँकी रहेको बताइएको छ। अमेरिकी सेनाको फिर्तीसँगै केही महिनाभित्रै अफगानिस्तानको सरकार र सैनिक पतन हुने अनुमान गरिएको छ। पछिल्लो समय तालिबान समूहले देशका धेरै जिल्लामा निरन्तर कब्जा गर्दै गएको र कैयौं जिल्लामा सेना एवं प्रहरीले आफ्ना पोस्टहरू छाड्न थालेका छन्।
अमेरिकी राष्ट्रपतिको ‘ओभल कार्यालय’मा बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रपति घानीले राष्ट्रपति बाइडेनसँगको छलफल सकारात्मक रहेको बताए। उनले अमेरिकी सहयोग निरन्तर राख्ने बाइडेनको भनाईबाट आफूहरू आशावादी रहेको बताएका थिए। तर, उनले आगामी दिनमा कठिनाइहरू रहेको पनि स्वीकारेका थिए। बाइडेनसँगको बैठकमा सहभागी अब्दुल्लाहले अमेरिकी सहयोगको निरन्तरताको आवश्यकताका बारेमा जोड दिएका थिए।
रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







