मार्सल लगाएर बजेट पारित गर्न खोज्दा एमालेको नाराबाजी

- पूर्व मन्त्री रामशरणले गरे मन्त्रीको टेबल तोडफोड


     एभरेस्ट आवाज    
     असार ३० गते २०७८ मा प्रकाशित




मार्सल लगाएर बजेट पारित गरेपछि बिपक्षी एमालेले प्रतिरोध गरेको छ । बजेट सच्याउन गरेको मागको बेवास्ता गर्दै मार्सल लगाएर बजेट पारित गर्न खोजेपछि एमाले सांसदहरुले नाराबाजी गर्नुका साथै टेबल तोडफोडसमेत गरेका छन् ।

बजेट निर्णयार्थ पेश गर्न सभामुखले समय दिएपछि रोस्टममा जान लागेका अर्थमन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई एमाले सांसदहरुले रोक्न खोजेका थिए । तर मर्यादापालकले रोकेपछि उनीहरुले नाराबाजी शुरु गरे । त्यहिबेला अचानक आक्रोसित रुपमा प्रस्तुत भएका पूर्व भौतिक पूर्वाधार मन्त्रीसमेत रहेका एमाले सांसद रामशरण बस्नेतले टेबल तथा कुर्सी तोडफोड गरे । उनलाई एमालेका अन्य सांसदहरुलेपनि सहयोग गरेका थिए । टेबल तोडफोड गरेपछि भने उनीहरु संसद हलबाट बाहिरिएका थिए ।

बजेट पारित गर्नेबेला सम्ममा एमाले सांसदहरु बैठक हलबाट बाहिरिसकेका कारण बजेट सत्तापक्ष मात्रै भएका बेला पारित गरिएको थियो ।

यसैबीच, टेबल तोडफोड गर्ने सांसद बस्नेतले आफूले टेबल तोडफोड गरेको नभई साँघुरो भएर मात्र सारेको दाबी गरेका छन् । एमाले संसदीय दल गण्डकी प्रदेशले बुधबार साँझ आयोजना गरेको पत्रकार भेटघाटमा उनले भने,‘मैले टेबल तोडफोड गरेको होइन, साँघुरो भएर सारेको मात्र हो ।’ सत्तापक्षले पेल्न खोजेको भन्दै त्यसरी पेलेर नजान चेतावनी दिए । ‘सत्तापक्ष र बिपक्षीबीच जम्मा ४ सिटको मात्र फरक हो, त्यसैले जे गर्दापनि हुन्छ भन्ने नसोंच्नुहोला, तानाशाही रुपमा सरकार अगाडि बढेछ तर यसको एमालेले प्रतिवाद गर्छ’–उनले भने ।

सांसद बस्नेतले सभामुखले पनि समन्वयकारी भूमिका नखेलेको आरोप लगाए । ‘सभामुखले समन्वयकारी भूमिका खेल्नु पथ्र्यो तर खेल्नु भएन’–उनले भने ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।