वालिङ । स्याङ्जाको वालिङ नगरपालिकाले यहाँका कृषकलाई भैँसी वितरण गरेको छ । नगरभित्रका वडा नं ९, १३ र १४ का ३३ कृषकलाई लागत साझेदारीमा भैँसी प्रवद्र्धन कार्यक्रमअन्तर्गत ६२ वटा भैँसी वितरण गरिएको हो ।
उक्त कार्यक्रमका लागि पशु सेवा शाखाको आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक स्वीकृत कार्यक्रम लागत साझेदारीअन्तर्गत रु २६ लाख ४५ हजार र कृषकको ५० प्रतिशत लागत साझेदारीमा करिब रु ५३ लाख लागेको हो ।
भैँसीपालनका लागि सम्भावित ठाउँ तथा कृषकको मागका आधारमा तीन वटा वडा छनोट गरी माउ भैँसी वितरण गरिएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताए । परम्परागतरूपमा भैँसीपालन गर्दै आएका कृषकलाई आधुनिक तरिकाले उन्नत जातका भैँसीपालनतर्फ आकर्षित गरी वालिङलाई दूधमा आत्मनिर्भर बनाउने उद्देश्यले भैँसी प्रवद्र्धन कार्यक्रम राखिएको उनले बताए ।
“परम्परागतरूपमा भैँसीपालन गर्दा फाइदा नहुने भएकाले व्यावसायिकतामा जोड दिँदै कृषकको आर्थिकस्तर सुधार्न सो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छु”, उनले भने, “पशुपालनमा व्यावसायिकता हुँदै गर्दा दूधमा आत्मनिर्भर हुने र कृषकमा थप व्यावसायिकतातर्फ ऊर्जा तथा उत्प्रेरणा थपिनेछ ।”
नगरपालिकाले माग गरेको आवेदनका आधारमा कृषकले ५० प्रतिशत लागत साझेदारीमा उन्नत मुर्रा क्रस जातका भैँसी खरिद गर्नुभएको पशु शाखाका प्रमुख डा वसन्तकुमार अधिकारीले बताए ।
हाल तीन वटा वडामा सञ्चालन भएको भैँसी प्रवद्र्धन कार्यक्रमअन्तर्गत केही कृषकले दुई वटा र केही कृषकले एउटाका दरले भैँसी खरिद गरेका डा अधिकारीले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सरकारले ल्याउन लागेको अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धि कार्ययोजनालाई कार्यान्वयन गर्न पहल…







