पोउवा संघका कार्यसमिति सदस्य बलराम तिमिल्सिनाको कोरानाका कारण निधन


     एभरेस्ट आवाज    
     श्रावण २१ गते २०७८ मा प्रकाशित




पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य बलराम तिमिल्सिनाको निधन भएको छ । करिब १ महिनाअघि कोभिड–१९ को संक्रमण देखिएपश्चात उत्पन्न विसन्चोका बीच काडमाडौंमा उपचारत उनको बुधबार साँझ निधन भएको हो ।
पोखरा उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान विजुक्छेका अनुसार कोभिड नेगेटिभ आएपछि पनि उहाँको फोक्सोमा संक्रमण देखिएको थियो । काठमाडौंको ग्राण्डी अस्पतालमा फोक्सोको संक्रमणको उपचार गराउँदै गर्दा पुनः मृगौलामा समस्या देखियो । अन्ततः २०२३ साल साउन १३ गते पोखरा १० रामघाटमा जन्मेका तिमिल्सिनाको साउन २० गते निधन भयो ।
तिमिल्सिना पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यका साथै पोखरा भाँडा व्यवसायी समितिका पूर्वअध्यक्ष एवं अन्य विभिन्न सामाजिक संघ÷संस्थामा क्रियाशिल थिए । पोखरा उद्योग उद्योग वाणिज्य संघले कार्यसमिति सदस्यको निधनमा गहिरो शोक व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गरेको छ ।
‘कार्यसमितिका जिम्मेवार सदस्यको रुपमा रहनुभएका तिमिल्सिनाको निधनबाट संघलाई अपूरणीय क्षति मात्र भएको छैन, एकपछि अर्को शोकले मर्माहत बनाएको छ’, पोउवा संघका महासचिव विजुक्छेद्धारा जारी विज्ञप्तिमा भनिएको छ,‘ व्यवसायसँगै सामाजिक क्रियाकलाप एवं व्यावसायिक हित रक्षाको लागि क्रियाशिल उहाँको निधनबाट समाजले एक होनाहार व्यक्तित्व पनि गुमाएको छ ।’ तिमिल्सिनाको बिहीबार नै पोखराको रामघाटमा अत्येष्टि गरिएको छ । उनका आमा, श्रीमतीसहित एक छोरा र एकजना छोरी रहेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।