पोखरामा खुल्यो स्कोडाको शोरुम, बहुप्रतिक्षित कुशाकको बुकिङ खुल्ला


     एभरेस्ट आवाज    
     श्रावण २७ गते २०७८ मा प्रकाशित




पोखरा । जर्मनी प्रविधिको स्कोडा गाडीको शोरुम पोखरामा खुलेको छ । पोखराको नयाँबजारस्थित एस.एस.एल.मोटर्स प्रा.लि.स्कोडाको लागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता तय भएको छ ।

शोरुमको बुधबार एक कार्यक्रम पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष अर्जुन पोखरेल लगायतले उद्घाटन गरे । उक्त अवसरमा बोल्दै पोखरेलले जर्मन प्रविधिको स्कोडा गाडी पोखरा क्षेत्रमा थप लोकप्रिय हुने विश्वास व्यक्त गरे । उनले सरकारको निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक हुनपर्ने औल्याए ।

स्कोडाको लागि नेपालको आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले एस.एस.एल. मोटर्सलाई बिक्रेता नियुक्त गरेको हो । पोखराको नयाँबजारमा रहेको एस.एस.एल. मोटर्सले स्कोडा गाडीको बिक्री तथा बुकिङ सुरु गरिसकेको छ । डिलर सुरु गरेसँगै प्रा.लि.ले स्कोडाको बहुप्रतिक्षित एसयुभी कुशाकको बुकिङ पनि सुरु गरिसकेको निर्देशक सूर्यप्रसाद बरालले जानकारी दिए ।


कार्यक्रममा कम्पनीको गाडी प्रयोगकर्ता एवं समाधान मिडिया प्रा.लिका अध्यक्ष उमनाथ बरालले ड्राइभिङ्गमा सहजता हुने भएकाले स्कोडी आफ्नो रोजाई भएको बताए । एमएडब्ल्यु इन्टरप्राइजेज स्कोडा डिभिजनका डिलर मेनेजर विजय थापाले कमिकमजोरी सुधार्दै उत्कृष्ट सेवा प्रदान गरिने प्रतिवद्वता व्यक्त गरे । कार्यक्रममा आदर्श समाज दैनिकका प्रधान सम्पादक कृष्णप्रसाद बास्तोलाले पनि बोलेका थिए ।

स्कोडाको कुशाक एसयूभी २ साता अगाडि मात्रै नेपाली बजारमा सार्वजनिक भएको हो । एक्टिभ, एम्बिसन र स्टाइल गरी तीन ट्रिममा उपलब्ध हुने स्कोडा कुशाक सबै गरी ५ भेरिएन्टमा बजारमा उपलब्ध छन् । स्कोडा कुशाकको सुरुवाती भेरिएन्ट एक्टिभ म्यानुअल ट्रान्समिसनको मूल्य ४९ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।

एम्बिसन म्यानुअल ट्रान्समिसनको मूल्य ५३ लाख ९० हजार र अटोमेटिक ट्रान्समिसनको मूल्य ५८ लाख ९० हजार रुपैयाँ तोकिएको छ । स्टाइल म्यानुअल ट्रान्समिसनको मूल्य ६० लाख ९० हजार र अटोमेटिक ट्रान्समिसनको मूल्य ६५ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।


नेपालमा बुकिङ एक सय २३ गाडीमध्य ७५ गाडी बिक्री भएको छ । जसमध्य पोखराबाट माात्रै ६ वटा गाडी विक्री भएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।