नदीपुरमा बन्यो आधुनिक प्रहरी बिट

- गायक भाष्करध्वज श्रेष्ठको नेतृत्वमा अर्थ संकलन


     एभरेस्ट आवाज    
     श्रावण ३० गते २०७८ मा प्रकाशित




पोखरा महानगरपालिका वडा नम्बर ३ नदीपुरमा आधुनिक प्रहरी बिट निर्माण भएको छ । स्थानियबासीको सकृयतामा नदीपुरमा आधुनिक प्रहरी बिट निर्माण भएको हो । गायक भाष्करध्वज श्रेष्ठको संयोजकत्वमा बनेको अर्थ संकलन उपसमितिले जुटाएको ३७ लाखको लागतमा नदीपुरमा ६ कोठाको २ तले प्रहरी बिट निर्माण भएको नदीपुर प्रहरी बिटका ईञ्चार्ज प्रहरी हवल्दार गौतम श्रेष्ठले जानकारी दिए । अर्थ संकलनमा प्रहरी बिट निर्माण समितिका संयोजक सहदेव बानियो, सचिव सनकमान सिके, प्रहरी हवल्दार गौतम श्रेष्ठलगायतको सकृय सहभागिता रहेको थियो ।

३७ वर्षअघि सेती नहरको माथि बनाइएको अस्थायी प्रहरी बिट पछिल्लो क्रममा चुहिने भएको थियो । सामान्य ब्लक मात्र हालेर बनाइएको सो बिट साँघुरो हुँदा त्यहाँ कार्यरत प्रहरीले शास्ती खेप्दै आउनु परेको थियो । त्यहि भएर उनीहरुको काममासमेत असर पर्नेगरेको त्यहाँ कार्यरत प्रहरीहरु बताउने गर्थे । दिनभर काम गरेरपनि राती मस्तसँग सुत्न नपाउँदा सो प्रहरी बिटका ईञ्चार्ज सँधै तनावमा हुन्थे । उनलाई प्रहरी बिट बनाउने हुटहुटी जाग्यो । प्रहरी बिट राम्रो बनाउन सके स्थानियलाई प्रभावकारी सुरक्षा दिन सकिन्थो भन्ने लागेर उनले स्थानिय समाजसेवीहरुलाई आग्रह गरे ।

नभन्दै प्रहरी हवल्दार श्रेष्ठको प्रस्ताव मनासिव लागेपछि स्थानिय समाजसेवी सहदेव बानियाको संयोजकत्वमा निर्माण समिति र डि–मर्चा ब्याण्डका भोकलिष्ट भाष्करध्वज श्रेष्ठको संयोकजत्वमा अर्थ संकलन उपसमिति बन्यो । अर्थ संकलन उप समिति संयोजक श्रेष्ठले शुरुवात आफैबाट गर्नुपर्छ भन्दै आफ्नो बुबा गोविन्दध्वज श्रेष्ठ र परिवारको नाममा ९५ हजार भवन निर्माणका लागि हाले । उनले स्थानियसहित आफ्ना आफन्त र साथीभाईलाई गुहारे । जसको प्रतिफल अहिलेको आधुनिक प्रहरी बिट बन्यो ।

प्रहरी बिट निर्माणसँगै मिश्रित प्रतिक्रिया आएको छ । कसैले नहरमाथि प्रहरी बिट बनाएको भन्दै विरोध जनाएका छन् । त कसैले शान्ति, सुरक्षामा खटिएका प्रहरी बस्ने प्रहरी बिट निर्माण भएकोमा खुशी व्यक्त गरेका छन् । राम्रो कामका लागि मापदण्ड मिचेर नहरमाथि प्रहरी भवन बनाउनु परेको पोखरा–३ का वडाध्यक्ष रबिन्द्रबहादुर प्रजुले बताएका छन् । उनले भने,‘मेरो लागि सबैभन्दा ठूलो कुरा शान्ति हो, सुरक्षा हो, जनताको पक्षमा राम्रो कामका लागि मापदण्ड मिचेर भवन बनाएका हौं, म यसको जस अपजस दुबै लिन तयार छु ।’

वडा सदस्य लक्ष्मी पराजुली र वडा–सचिव चन्द्रवती वाग्लेले पनि समाजको हितका लागि मापदण्ड मिचेर भवन बनाउनुपरेको बताए । स्थानिय समाजसेवी तथा लोकदोहोरी प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष प्रजापति पराजुलीले राम्रो काम गर्दापनि हतोत्साही बनाउन नराम्रो कुरा गर्ने समाज रहेको भन्दै त्यसैका आधारमा निरुत्साहित हुन जरुरी नभएको बताए ।

नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले समाजमा राम्रा र नराम्रा दुबै खालको हुने भएकाले नराम्राले के भन्छन् भनेर त्यसको पछि नलागि राम्रो कार्य गरिरहनुपर्ने बताए ।

भिन्तुना युवा क्लव तेर्सापट्टीका अध्यक्ष राजन श्रेष्ठले स्थानियको सुरक्षाका लागि खटिने प्रहरीका लागि स्थानिय स्तरबाटै भवन निर्माण गरेर पोखरा–३ ले उदाहरणीय कार्य गरेको बताए ।

नवनिर्मित प्रहरी बिटको शनिबार पोखरा–३ का वडाध्यक्ष रबिन्द्रबहादुर प्रजुले समुद्घाटन गरे । भवन उद्घाटनको अवसरमा सो प्रहरी बिटका ईञ्चार्ज प्रहरी हवल्दार गौतम श्रेष्ठसहित त्यहाँ कार्यरत ५ जना प्रहरीलाई सम्मान गरिएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।