चन्दा संकलन गरेको आरोपमा ४ लाख नगदसहित झापाका ३ जना पोखरामा पक्राउ


     एभरेस्ट आवाज    
     भाद्र ४ गते २०७८ मा प्रकाशित




मिर्गौला पीडितका लागि भन्दै नक्कली संस्था दर्ता गरी चन्दा संकलन गरेको आरोपमा कास्की प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । ‘युनिक स्वयम्सेवक नेपाल’ नामक संस्था दर्ता गरी मिर्गौला पीडितको सहयोगार्थ भन्दै अवैध रुपमा चन्दा संकलन गरेको आरोपमा प्रहरीले पोखरा महानगरपालिका वडा नम्बर २६ बिजयपुरस्थित न्यू हाईवे स्टाफ होटलबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुमा सो होटलको कोठामा भाडा तिरेर बस्दै आएका झापा र्बिामोड नगरपालिका वडा नम्बर १ का ३४ वर्षिया एलिजा बस्नेत, ३२ वर्षिय टेकबहादुर बस्नेत र झापाकै हल्दीबारी गाउँपालिका वडा नमबर १ का ४४ वर्षिय धनबहादुर सेञ्चुरी रहेका छन् । उनीहरुले पाल्पा जिल्लाको साविक झडेवा गाउँ विकास समिति वडा नम्बर ५ अर्थात हाल माथगढी गाउँपालिका वडा नम्बर का मिर्गौला पीडित ३५ वर्षिय चुडाबहादुर रुचालको उपचारका लागि भन्दै चन्दा उठाएको प्रहरीको आरोप छ ।

पक्राउ परेका उनीहरुको साथबाट ४ लाख ६ हजार ४ सय ६ रुपैयाँसमेत बरामद गरेको कास्की प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरुले यसअघी चितवन, तनहुँ, दैलेख, सुनसरी, रुपन्देही, नवलपरासी, कास्की, पाल्पा, स्याङ्जालगायत ९ जिल्लाका १२ जना विरामीको नाममा सम्बन्धित जिल्लाबाट सिफरिस नलिई चन्दा संकलन गरेको प्रहरीको दाबी छ । उनीहरुले चन्दा संकलनका लागि अटो ट्याम्पो भाडा लिएर देशका मुख्य मुख्यर सहर जाने र चन्दा संकलन गर्नेगरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी सुवास हमालले जानकारी दिए ।

पक्राउ परेकाहरुबिरुद्ध चन्दा ऐन २०३० अन्तर्गत जिल्ला अदालत कास्कीबाट ५ दिन म्याद थप गरी अनुसन्धान गरिरहेको डिएसपी हमालले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।