पोखराबाट १३५० केजी एसिडसहित ३ जना पक्राउ


     एभरेस्ट आवाज    
     भाद्र १४ गते २०७८ मा प्रकाशित




एसिड बेचेको आरोपमा पोखराबाट ३ जना पक्राउ परेका छन् । बिना ईजाजत एसिड बेचेको आरोपमा कास्की प्रहरीले पोखराबाट ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १५ घर भई चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नम्बर ४ बेलचोक बस्ने ग.३ प.११४३ नम्बरका जीप चालक १९ वर्षिय कोमिनबहादुर भारती, मोरङ जिल्ला विराटनगर महानगरपालिका वडा नम्बर २ स्थायी घर भई चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २ बस्ने सोहि जीपमा सवार २९ वर्षिय केशव सिंह र बागलुङ नगरपालिका वडा नम्बर ७ ढिकीचौर स्थायी घर भई पोखरा महानगरपालिका वडा नम्बर २ मोहरियाटोल बस्ने अभिषेक औजार पसलका सञ्चालक ६३ वर्षिय बेलबहादुर विक रहेका छन् ।

उनीहरुलाई बिना ईजाजत एसिड लिएर हिंडिरहेको अवस्थामा पोखरा–४ गैह्रपाटनबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । उनीहरुको साथबाट सिलबन्दी तथा लेवलिङ नलगाएको १ हजार केजी एसिड तथा अभिषेक औजार पसलमा बेच्नको लागि राखेको ३५० केजी एसिड बरामद गरेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।

पक्राउ परेकाहरुलाई तेजा तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश–२०७७ बमोजिम मुद्धा दर्ता गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको उनले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।