उपभोक्तालाई छिटोछरितो सेवा प्रदान गर्न टेलिकमलाई मन्त्री थापाको निर्देशन


     एभरेस्ट आवाज    
     भाद्र १७ गते २०७८ मा प्रकाशित




गण्डकी प्रदेशका कानुन,संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले उपभोक्तालाई छिटो छरितो सेवा प्रदान गर्न टेलिकमलाई निर्देशन दिनुभएको छ । नेपाल टेलिकम गण्डकी प्रादेशिक कार्यालय पोखराको अवलोकन गर्दै मन्त्री थापाले समयको परिवर्तन सँगै सेवामा समेत परिवर्तन हुनुपर्ने आवश्यकतालाई औंल्याउनुभएको हो । उहाँले पहिले टेलिफोनको महशुल तिर्न आउँदा दिनभरीको समय लिएर आउनुपर्ने बाध्यता भएपनि अहिले त्यस्तो स्थिति नभएको उल्लेख गर्नुभयो ।

‘पहिले म राष्ट्रबैंकको कर्मचारी हुँदा टेलिफोनको महशुल तिर्न दिनभरी लाइन लगाउनुपथ्र्यो । अहिले त्यस्तो अवस्था छैन । प्रविधिको विकास सँगै हामी पनि परिवर्तशील भएका छौं  । घरमै बसेर अनलाइनका माध्यम महशुल तिर्न सक्ने व्यवस्था भएको छ ।’, उहाँले भन्नुभयो ।

मन्त्री थापाले आफ्नो मन्त्रालयले संचार क्षेत्रलाई समेत हेर्ने भएकाले धेरै योजनाहरु तय भएको र त्यसको कार्यान्वयनका लागि सबैको सल्लाह, सुझावको अपेक्षा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मन्त्रालयले सुुचना संचार सम्बन्धित केही योजनाहरु अगाडि सारेको छ । बजेट समेत विनियोजन भएको अवस्था छ । त्यसलाई पुरा गर्न प्राविधिक साथीहरुसँग पनि हामीले अवश्य छलफल गर्नेछौं ।’

गण्डकी प्रदेश सरकारको गौरवको योजना आइटी पार्कलाई सार्थकता दिने गरी कार्य प्रारम्भ भइसकेको मन्त्री थापाले बताउनुभयो । पार्कको व्यवस्थापनमा नेपाल टेलिकमको भूमिका महत्वपूर्ण रहने विश्वास उहाँको छ ।

गण्डकी प्रदेश भित्रका सरकारी कार्यालयहरुको डाटाहरुलाई सुरक्षित राख्ने गरी डाटा सेन्टरको समेत प्रदेश सरकारले स्थापना गर्न लागेको मन्त्री थापाले जानकारी गराउनुभयो । उक्त कार्यलाई उपयुक्त ठाउँको पहिचान गरी सफल बनाउन सबैको सहयोगको अपेक्षा रहेको उहाँले बताउनुभयो ।  आइटी भिलेज निर्माणको योजनालाई समेत मन्त्रालयले अगाडि सारेको छ ।

मन्त्री थापाले नेपाल टेलिकमको कार्यालय व्यवस्थापनलाई सुदृढ बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । उहाँले गण्डकी प्रदेशका हरेक जिल्लामा ‘फोरजी’ र ‘एफटीटीएच’ को सेवा सहज ढंगले उपलब्ध गराउन, डाटा र भ्वाईसको गुणस्तरतामा जोड दिन टेलिकमलाई निर्देशन दिनुभएको छ ।  हरेक नाफामुलक संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्दै थप जिम्मेवार भई गुणस्तरिय र सर्वसुलभ सेवा प्रदान गर्ने भएकाले त्यस तर्फ समेत ध्यान दिन नेपाल टेलिकमलाई उहाँको आग्रह छ ।  नागरिकका समस्यालाई सहज र सरल ढंगले समाधान गर्ने हेतुका साथ दुरसंचार सेवा प्रदायक संस्थाले प्रदान गर्ने गरेका सेवाको गुणस्तरीयतालाई प्रभावकारी बनाउँदै लैजानुपर्छ आवश्यकतालाई उहाँले औंल्याउनुभयो ।

नेपाल टेलिकम गण्डकी प्रादेशिक कार्यालय पोखराका निर्देशक इन्दल यादवले हाल टेलिकममा १९५ जना कर्मचारी रहेको जानकारी गराउनुभयो । आफुहरुले  अहिले एडीएसएल, एफटीटीएच, फोरजी सेवा प्रदान गर्दै आएको भनाई उहाँको छ । प्रदेशका हरेक जिल्लामा टेलिफोन टावरलाई समेत व्यवस्थित गर्दै लगिएको उहाँले बताउनुभयो । ‘ कभरेज कम भएका प्रदेशका जिल्लाहरुमा सर्भे गरी कभरेज बढाउँदै लगेका छौं । नागरिकको सुझावलाई आत्मसाथ गर्दै अगाडि बढीरहेका छौं ।’, उहाँले भन्नुभयो ।

 ४७७ वटा फोरजी साइडहरुमा ४१८ वटा साइडहरु संचालनमा रहेको जानकारी गराउँदै निर्देशक यादवले अहिले फोरजी, एफटीटीएचलाई नै विशेष जोड गरिएको बताउनुभयो । 


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।