पोखरा नयाबजारस्थित कृषि बजार (तरकारी मण्डी) प्रदेश मातहत ल्याउनुपर्छ : मन्त्री बराल

- व्यवसायी बचाउनु सरकारको दायित्व हो : प्रजापती


     एभरेस्ट आवाज    
     असाेज १४ गते २०७८ मा प्रकाशित




प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले पोखरा नयाबजारमा रहेको कृषि उपज बजार (तरकारी तथा फलफूल बजार) प्रदेश मातहत ल्याउनुपर्ने बताएका छन् । राष्ट्रिय फलफूल तथा तरकारी थोक व्यवसायी संघ, कास्कीको विहीबार आयोजित १८ औं साधारण सभा एवम् नवौं अधिवेशनको उद्घाटन शत्रलाई सम्बोधन गर्दै मन्त्री बरालले संघ मातहत रहेको कृषि उपज बजार प्रदेश मातहत ल्याउनुपर्ने बताएका हुन् । ‘यो बजार प्रदेश मातहत ल्याउनै पर्छ, त्यसो भयो भने मात्र बजार ब्यबस्थित हुन्छ’–उनले भने ।संघ मातहत रहेका कारण बजार व्यवस्थित नबन्नुका साथै त्यहाँ गुण्डागर्दी र लुटतन्त्र भइरहेको भन्दै उनले प्रदेश सरकार मातहत ल्याएर त्यस्ता कार्यको अन्त्य गर्नुपर्ने बताए । ‘यो बजार गण्डकी सरकारको स्वामित्वमा नआई ब्यबस्थित हुन सक्दैन, गण्डकी सरकारको मातहत आउने वित्तिकै चलखेल गर्ने, अदृश्य तरिकाले लुट्ने खेल समाप्त हुन्छ ।’–उनले भने । उनले तीनै चलखेल गर्ने, अदृश्य तरिकाले लुट्नेहरुले आफ्नो हातबाट बजार फुत्किने डरले संघ सरकारलाई प्रभावमा पारेर प्रदेश मातहत ल्याउन नदिने प्रयास गरिरहेका छन् ।

मन्त्री बरालले सब्जी मण्डी भित्रका सटरहरुको ब्यापार गर्ने, तस्करी गर्ने काम भइरहेको भन्दै यो बेठीक भएको बताए । ‘जापान, अमेरीका, दुबई बस्नेहरुले सटर लिएका छन्, सस्तो मूल्यमा लिएका उनीहरुले किसानलाई महङ्गोमा सटर भाडामा लगाउने र बजारलाई कम तिर्छन्, यसले गर्दा बास्तविक किसान र व्यवसायीले सटर पाएका छैनन्’–उनले भने । उनले बिचौलियाले भन्दा किसानले सटर पाउनुपर्नेमा जोड दिए । ‘जसले एक थोपा पसिना, एक रुपैयाँ पैसा लगानी गरेको छैन, उसैले सबैभन्दा बढी कमाउने ? यो राम्रो भएन, यसको अन्त्य गर्नुपर्छ ।’–उनले भने ।

कृषि उपज बजार किसानका लागि भएको भन्दै यसमा किसानको सहज पहुँच पुग्नुपर्ने बताए । उनले गण्डकी प्रदेशका ८५ वटै स्थानिय सरकारसँग समन्वय गरेर त्यहाँका कृषि उपज बस्तु सब्जी मण्डीमा आउने वातावरण मिलाउन सुझाव दिए । उनले सीमा पारिका कृषि उपज बस्तु ल्याएर बेच्ने ब्यापारी मात्र नबन्न आग्रह गरे । किसानलाई सम्मानित महशुष गराउँदै उनीहरुको उत्पादनले सहजै बजार र मूल्य पाउने वातावरण मिलाउनुपर्नेमा उनले जोड दिए ।

पोखरा चेम्बर अफ कमर्स, कास्कीका अध्यक्ष यमनाथ पौडेलले कोभिडका कारण बजार थलिएका बेला गुण्डागर्दी शैलीमा कृषि बजारलाई टेण्डरको प्रक्रियामा लगिएको भन्दै आपत्ति जनाए । यस्तो विषम परिस्थितिमा व्यवसायीलाई संरक्षण गर्नुपर्नेमा उल्टै बिस्थापित गर्ने नियतले टेण्डर गर्न खोजिएको उनको आरोप थियो ।

पोखरा उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पवनकुमार प्रजापतीले थोक विक्रेताहरुको लगानी जोखिम हुने भन्दै लगानी सुरक्षित गर्नेतर्फ सरकारले ध्यान दिनुपर्ने बताए । त्यसका लागि सरकार र व्यवसायी दुबैले बेहोर्नेगरी कृषि उपज वस्तुको ईन्सुरेन्स गर्ने ब्यबस्था गर्नुपर्नेमा जोड दिए । सरकार व्यवसायीक पार्टनर नै भएको बताउँदै उनले थपे,‘किनभने व्यवसायीले कमाएको नाफाको निश्चित रकम सरकारले लिन्छ, व्यवसायी बाँचेमात्र सरकारपनि बाँच्छ, त्यसैले व्यवसायी बचाउनु सरकारको दायित्व हो ।

राष्ट्रिय फलफूल तथा तरकारी थोक व्यवसायी संघ, कास्कीका पूर्व अध्यक्ष केदार पौडेलले कृषि बजार केहि मुठीभरकाले कब्जा गरिरहेको भन्दै यो किसानको पहुँचमा पुग्नुपर्ने बताए । उनले उपभोक्तालाई स्वस्थ तरकारी पाउने वातावरण निर्माण गर्नुपर्नेमापनि जोड दिए ।

साधारणसभाको अवसरमा लामो समयसम्म व्यवसाय गर्ने रामदीप धोवी र हरिराम गौरलाई दोषल्ला र सम्मान पत्रले सम्मानित गरिएको थियो ।

संघका अध्यक्ष निर्मलप्रसाद बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष छेवाङ लामा, कृषि बजार ब्यबस्थापन समितिका अध्यक्ष कमलप्रसाद पौडेललगायतले बोलेका थिए । साधारण सभा तथा अधिवेशनले नया नेतृत्व चयन गर्ने जनाइएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।