दक्षिण एसियामै पहिलोपटक ‘रारा चाउचाउ’ भित्राउने श्रेष्ठको निधन


     एभरेस्ट आवाज    
     असाेज २७ गते २०७८ मा प्रकाशित



दक्षिण एसियामै पहिलोपटक चाउचाउ भित्राउने फणिन्द्रमान श्रेष्ठको निधन भएको छ । गण्डकी नुडल्सबाट उत्पादित रारा चाउचाउ भित्राउने श्रेष्ठको आज विहान ६ः२० बजे निधन भएको हो । उनको काठमाडौंको शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिह श्रोतले जनाएको छ । उनको आजै अन्त्येष्टी गरिएको छ ।

स्वर्गिय श्रेष्ठ पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष एवं मानार्थ सदस्य हुन् । उनी वि.स.१९९८ साल भदौ ४ गते लमजुङ जिल्ला दुराडाँडाको पुरानकोट फोस्रेगाउँ दुराडाँडा ( हाल बेसिसहर नगरपालिका–४) जन्मेका थिए । उनी २०४७ देखि २०४९ सालसम्म संघको अध्यक्ष भएका थिए । त्यसअघी उनी २०३३ सालमा संघको कार्यसमिति सदस्य हुँदै २०४१ देखि २०४७ सम्मको कार्यकालमा उपाध्यक्ष बनेका थिए ।

स्वर्गिय श्रेष्ठसेवा निवृत्त बेलायती सेना हुन् । औद्योगिकीकरणमा उनको विशेष रुचि र सोख थियो ।

श्रेष्ठ गण्डकी ब्रिक फ्याक्ट्रीका साथै शक्ति ग्याँस कम्पनी, पोखरा म्याकरोनी प्रोडक्ट प्रालि, त्रिशक्ति सोप एण्ड केमिकल कम्पनीमार्फत् निलगिरी साबुनका उत्पादक हुन् । उनले पछिल्लो पटक अनुपम फुड्स प्रालि र नेपाल स्न्याक्स प्रालि स्थापना गरेर उत्पादन गर्दै आएका थिए ।

पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष रहँदा उनले संघको गरीमा उकास्न तथा निजी क्षेत्रको हक÷हितको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको पोखरा उद्योग वाणिज्य संघले जनाएको छ । संघको सचिवालय सुदृढीकरण, औद्योगिक सूचना केन्द्रको स्थापना एवं अन्तर्राष्ट्रिय साझेदारी अभियान पनि उनकै कालखण्डमा सुरुवात भएको संघका महासचिव सुरेन्द्रमान बिजुक्छेले जारी गरेको शोक विज्ञप्तीमा उल्लेख छ ।

यसैबीच, श्रेष्ठको निधनप्रति पोखरा उद्योग वाणिज्य संघले दुःख व्यक्त गरेको छ । संघका महासचिव सुरेन्द्रमान बिजुक्छेले शोक विज्ञप्ती निकाल्दै उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । साथै विज्ञप्तीमा शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरिएको छ ।

स्वर्गीय श्रेष्ठका एक सुपुत्री र एक सुपुत्र एवं ४ जना नातिनी–नातिना रहेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।