राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन, २०२१ ले डाँफे, मुनाल, कालिजलगायतका वनजंगलमा पाइने पंक्षी पाल्न तथा सिकार गर्न प्रतिबन्ध लगाएको छ।
विदेशबाट आयात गरिएको ‘रिङनेक’ जातको कालिज पाल्न तथा सिकार गर्न पाइने कानूनी व्यवस्थासँगै पछिल्लो समय कालिज पाल्नेको लहर चलेको छ।
केही वर्षअघिसम्म दुर्लभ मानिने कालिज (वनकुखरा)को मासु होटल, रेष्टुरेन्टदेखि व्यक्तिका भान्छामा सहजरूपमा उपलब्ध हुन थालेको छ।
भारतीय गोरखा सैनिकबाट सेवानिवृत्त भएपछि व्यावसायिक कालिजपालन सुरुआत गरेका बेनी नगरपालिका–२ फापरखेतका नवीन घिमिरे छोटो समयमै राम्रो व्यावसायिक सफलता मिलेको बताउँछन्।
‘पल्टनमा हुँदा दार्जिलिङमा कालिजपालन गरेको देखेर रुचि बढेको थियो’, उनले भने, ‘नेपालमा सरकारले कालिज पाल्न अनुमति दिएकाले पेन्सन आएलगत्तै व्यवसाय सुरु गरेको थिए।’
गत वैशाख महिनामा रञ्जिला कृषि तथा पशुपक्षी फार्म स्थापना गरेर व्यवसाय सुरु गरेका ३९ वर्षीय उनले ‘युट्युब’ हेरेर यससम्बन्धी जानकारी लिएको बताए। ७ रोपनी पाखोबारीलाई घेराबार गरेर आकाशलाई जालीले छोपिएको खोर बनाएका छन्। पहिलो चरणमा ६ सय चल्ला राखेका उनले ६ महिनामै आम्दानी लिन थालेका छन्। प्रतिगोटा ३ हजार ५ सयका दरले १ सय कालिज बिक्री भइसकेको छ। पोखराबाट थप ५० वटा भाले र ३० वटा पोथी कालिजको ‘अर्डर’ आएको व्यवसायी घिमिरेले जानकारी दिए।
उनका अनुसार खोर निर्माण र चल्ला खरिदमा २० लाख रुपैयाँ लगानी भएको छ। मकै, गहुँको घरायसी र बजारबाट खरिद गरेको दानाको साथै हरियो घाँसलाई आहराको व्यवस्थापन गरेका छन्। बेनी नगरपालिका–४ सिंगाको हरियाली कृषि समूहको फार्मले गत वैशाखदेखि कालिजको चल्ला उत्पादन गर्दै आएको छ। पाल्नका लागि चल्ला र मासुका लागि वयस्क कालिजको माग बढेको हरियाली समूहका संचालक शेरबहादुर केसीले बताए।
‘कालिजको मासुको परिकार होटल तथा रेष्टुरेष्टको मेन्यूमा थपिएको छ’, उनले भने, ‘सोख र व्यवसायका लागि कालिज पाल्ने क्रम बढेको छ।’
४ हजार कालिज मासुका लागि बिक्री योग्य भएका हरियालीको फार्मबाट दैनिक २ सय गोटा चल्ला बिक्री हुन्छ। ५ महिना पालेपछि २ किलोभन्दा बढी तौल हुने कालिज मासुका लागि खान योग्य हुन्छन्। कालिज सुत्केरी महिला र युरिक एसिड भएका लागि लाभदायक मानिन्छ।
पछिल्लोपटक संशोधित वन ऐनले कालिजको व्यावसायिक पालन गर्न सक्ने व्यवस्था गरेको छ। कालिजले सामान्य कुखुराको जस्तै प्रोटिन बढी भएको दाना खाने गर्दछन्।
कालिज नेपालमा पाइने जंगली पंक्षी हो। स्वादिलो र स्वास्थ्यका लागि उपयुक्त मानिने कालिजको व्यावसायिक पालन भएपछि मासुका लागि जंगलको कालिज चोरी शिकारी न्यूनीकरणमा सहयोग पुगेको वन प्राविधिकहरुले बताएका छन्।
रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







