चीनद्वारा पोखराका चार विद्यालयमा निःशुल्क ईन्टरनेट सुविधा


     एभरेस्ट आवाज    
     कार्तिक २३ गते २०७८ मा प्रकाशित




चीनिया दुतावासको सहयोगमा पोखराका चार सरकारी विद्यालयमा निःशुल्क ईन्टरनेट सुविधा प्रदान गरिने भएको छ । नेपाल–चीन जनमैत्री संघ पोखराको समन्वय तथा चीनिया दुतावासको सहयोगमा पोखराका जनचेतना मावि, जनजागृति मावि, शिशुकल्याण मावि र भविष्य निर्माण माविमा निःशुल्क ईन्टरनेट सेवा जडान गर्न लागिएको हो । ती चार विद्यालयमा निःशुल्क ईन्टरनेट जडान गर्ने सम्बन्धमा मंगलबार चीनिया राजदुत हउ यान्छीको भर्चुअल उपस्थितिमा सम्झौता भएको छ । सम्झौतामा नेपाल–चीन जनमैत्री संघ पोखराका अध्यक्ष विश्वशंकर पालिखे र चार वटै विद्यालयका प्रधानाध्यापकहरुले मंगलबार पोखराको माउण्ट कैलाश रिसोर्टमा आयोजित कार्यक्रममा हस्ताक्षर गरेका छन् । सम्झौतालगत्तै सम्झौता पत्र आदानप्रदान गरिएको थियो ।

सम्झौता अनुसार पोखराको जनचेतना मावि, जनजागृति मावि, शिशुकल्याण मावि र भविष्य निर्माण माविमा निःशुल्क ईन्टरनेट जडान गरिनेछ । चारवटै विद्यालयमा ईन्टरनेट जडानका लागि आवश्यक पर्ने अप्टिकल फाईबर केवल जडान, प्रत्येक कक्षामा आवश्यक पर्ने डिभाइस, विद्युत आपूर्ति नभएका बेलापनि ईन्टरनेट चलाउनका लागि ब्याकअप ब्याट्री र एक वर्षका लागि आवश्यक पर्ने ईन्टरनेट पोखरा ईन्टरनेटबाट निःशुल्क उपलब्ध गराईनेछ । यी सबै कार्यका लागि करीब २० लाख खर्च लाग्ने नेपाल–चीन जनमैत्री संघ पोखराका अध्यक्ष विश्वशंकर पालिखेले जानकारी दिए । उनले भने,‘प्रत्येक विद्यालयमा ४÷५ लाख लाग्छ, सबैगरी कुल २० लाख जति लाग्छ ।’ ईन्टरनेटका लागि आवश्यक पर्ने सबै उपकरण मंगलबारै विद्यालयहरुलाई हस्तान्तरण गरिएको उनले बताए । उनका अनुसार पहिलो चरणमा ४ विद्यालय र दोश्रो चरणमा थप चार विद्यालयमा निःशुल्क ईन्टरनेट जडान गरिनेछ । त्यसपछि थप दाता पाइएमा पोखरा महानगर भित्रका सबै सरकारी विद्यालयमा निःशुल्क ईन्टरनेट जडान गर्ने योजना रहेको उनको भनाई छ ।

सम्झौता कार्यक्रममा भर्चुअल माध्यमबाट बोल्दै चीनिया राजदुत हउ यान्छीले ईन्टरनेट दूर शिक्षाका लागि महत्वपूर्ण कडी भएकाले त्यसबाट टाढा रहेका सरकारी विद्यालयलाई दुतावासले सहयोग गरेको बताईन् । ‘विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ ले शिक्षामा चुनौति खडा गरेको छ, शिक्षामा बाधा उत्पन्न गरेको छ, यसलाई चिर्नका लागि ईन्टरनेटको विकल्प छैन, त्यहि भएर पोखरेली विद्यार्थीलाई सहज होस् भनेर हामीले सहयोग गरेका हौं’–उनले भनिन् । उनले कोभिडका कारण विद्यालय बन्द भएको र सोहि कारण विद्यार्थी अध्ययनबाट बञ्चित भएकाले ती बञ्चित विद्यार्थीले पनि पढ्न पाउन् भनेर चीनिया दुतावासले नेपाली विद्यार्थीलाई ईन्टरनेटको पहुँच पु¥याउन सहयोग गर्ने निर्णय गरेअनुसार नै सहयोग गरिएको स्पष्ट पारिन् । उनले नेपाल र चीन एक असल छिमेकी र सुख–दुःखको साथी भएको बताउँदै यसलाई कायम राखिराख्न विद्यार्थीहरुले नेपाल र चीन बीचको ईतिहास पढ्नुपर्ने बताईन् ।

गण्डकी प्रदेशका शिक्षामन्त्री मेखलाल श्रेष्ठले पोखरालाई शिक्षाको हब बनाउन प्रदेश सरकारले योजना अगाडि बढाइरहेको भन्दै यसका लागि चीन सरकारको सहयोग आवश्यक रहेको बताए । त्यसका लागि चीनले नेपाललाई प्रविधिसहित दक्ष जनशक्तिमा सघाउने अपेक्षा गरेको उनको भनाई थियो । ‘हामीपनि चीनका विद्यार्थी झैं प्रविधियुक्त दक्ष जनशक्ति उत्पादन गर्न चाहन्छौं, विदेशबाटसमेत पोखरा आएर अध्ययन गर्ने खालको शिक्षाको हब बनाउन चाहन्छौं, जसले गर्दा यहाँ उत्पादन भएका विदेशी विद्यार्थी आफ्नो देशमा गएर रोजगारी प्राप्त गरोस्, यहाँका विद्यार्थीले यहिं रोजगारी पाओस्, स्वरोजगार गर्न सकोस्’–उनले भने । उनले चीन र नेपालको उत्तरी कोरला नाका बन्द रहेको बताउँदै सो नाका अवलोकन गरी समस्या पहिचान गर्दै सञ्चालनका लागि पहलकदमी लिईदिन आग्रहसमेत गरे ।

पोखरा ईन्टरनेट प्रालिका प्रबन्ध निर्देशक वरदान ताङबे लामाले चीनिया दुतावासको सहयोगमा विद्यालयलाई सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै चीन सरकारलाई धन्यवाद दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।