नोबेल पुरस्कार विजेता मलालाको बैवाहिक जीवन सुरु


     एभरेस्ट आवाज    
     कार्तिक २५ गते २०७८ मा प्रकाशित




नोबेल पुरस्कार विजेता पाकिस्तानी युवती मलाला युसुफजाइले बैवाहिक जीवन सुरु गरेकी छिन्।

छात्रा शिक्षाका लागि अभियान चलाएका बेला तालिबान विद्रोहीहरुले गोली प्रहार गरेपछि चर्चामा आएकी मलालाले पाकिस्तानकै एक युवकसँग विहे गरेकी हुन्।

मलालाले आफ्नो बैवाहिक कार्यक्रम भने सानो इस्लामिक समारोहबीच मंगलबार बेलायतको बिर्मिङघममा भएको जानकारी दिएकी छिन्।

तालिबान विद्रोहीहरुको आक्रमणकै कारणले असुरक्षा महसूस गरी उनी अहिले बेलायतमा बस्दै आएकोले बेलायतमा बैवाहिक कार्यक्रम भएको हो। सामाजिक सञ्जालहरुमा आफ्ना पतिसहितको फोटो राखेर २४ वर्षिया मलालाले सवैको तर्फबाट शुभकामना र आर्शिवाद चाहेको उल्लेख गरेकी छिन्।

‘मैले मेरो नयाँ जीवन सुरु गरेको छु, यो मेरो जीवनको ठूलो अवसर हो, असेर मलिक मेरो जीवनसाथी बन्नुभएको छ,’ उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेकी छिन्।

इस्लामिक परम्पराअनुसार बिवाहको पहिलो चरणमा निकाह गर्ने गरिन्छ। उनले अहिले निकाह गरेकी हुन्। यसको कानुनी हैसियत भने रहँदैन। महिला अधिकारको पक्षमा लागेको र मुस्लिम छात्रालाई पढाएकोप्रति रुष्ट हुदै सन् २०१२ मा १५ वर्ष उमेरकी मलालालाई तालिबान विद्रोहीले गोली प्रहार गरेका थिए।

पाकिस्तानको उत्तर पश्चिमी स्वात उपत्यकामा तालिबान विद्रोहीहरुले मलाला चढेको स्कुल बसमा हमला गर्दा उनीसहित ३ जना घाइते भएका थिए। त्यसपछि उनको चर्चा विश्वव्यापी भयो र १७ वर्षकै उमेरमा सन् २०१४ मा नोबेल पुरस्कार पाइन्। उनी अहिलेसम्म नोवेल पुरस्कार पाएका व्यक्तिहरुमध्ये सबैभन्दा कान्छी छिन्। उनले राजनीति शास्त्र र अर्थशास्त्रमा अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गरेकी छिन् भने विश्वभरी मानवअधिकारकर्मीको पहिचान बनाएकी छिन्।

रासस/एएफपी


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।