दिल्लीका विद्यालय र कलेज अनिश्चितकालीन बन्द


     एभरेस्ट आवाज    
     मंसिर २ गते २०७८ मा प्रकाशित



वायु प्रदूषण बढेपछि दिल्लीका सम्पूर्ण विद्यालय र कलेज अनिश्चितकालका लागि बन्द गरिएका छन्।

दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले बुधबार यस्तो घोषणा गरेका हुन्। त्यस्तै, दिल्लीमा २१ नोभेम्बरसम्म सम्पूर्ण निर्माण कार्य नगर्न भनिएको छ।

तर, यातायात र रक्षासम्बन्धी निर्माण कार्यका हकमा यो प्रतिबन्ध लागू हुने छैन्। दिल्लीमा एक सातादेखि सरकारी कर्मचारीले घरबाटै काम गर्दै आएका छन्।

दिल्लीमा संचालित कोइलामा आधारित ११ ओटा उर्जा उत्पादन केन्द्रहरुमध्ये ५ वटा केन्द्रलाई मात्र सञ्चालन गर्न अनुमति दिइएको छ ।
दिल्लीको वायु गुणस्तर सूचांक खतराभन्दा माथिको तहमा पुगेको छ। सहरका विभिन्न भागको वायुको गुणस्तर सूचांक (एक्यूआई) ४ सय नाघेको छ। सामान्यतया शून्यदेखि ५० सम्मको एक्यूआइलाई राम्रो मानिन्छ।

दीपावलीदेखि दिल्लीको आकाश धुलो र धूँवाले ढाकेको थियो। उद्योग तथा सवारी साधनहरूबाट निस्किएको धुँवा, धुलो, र सुख्खा मौसमका कारण दिल्लीमा प्रदूषण बढेको विज्ञहरुले बताउँदै आएका छन्। हरेक वर्ष हिउँद लागेसँगै भारतका विभिन्न सहरमा प्रदूषण बढ्ने गरेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।