पर्वतीय पर्यटनबाट दिगो विकास सम्भव छ : कुलपति गणेशमान गुरुङ


     एभरेस्ट आवाज    
     मंसिर २४ गते २०७८ मा प्रकाशित




गण्डकी विश्वविद्यालयका कुलपति प्रा. डा. गणेशमान गुरुङले पर्वतीय पर्यटनबाट दिगो विकास हासिल गर्नका लागि यस क्षेत्रको संरक्षण सम्बद्र्धनमा जोड दिनुपर्ने बताएका छन् । अनुसन्धान तथा क्षमता अभिवृद्धि केन्द्रको (रिक्याप) आयोजना र सोलिडारिटी फोरोम (सोफो)को समन्वयमा “समृद्धिका लागि दीगो पर्वतीय पर्यटन” विषयक छलफल कार्यक्रममा उनले पर्वतीय क्षेत्रका विशेषताहरुको पहिचान गर्दै त्यसको संरक्षणमा जोड दिनुपर्ने बताएका हुन् ।
हिमालमा बढ्दो फोहोरको व्यवस्थापन हुन नसक्नु, हिमाली जनजीवनको मौलिक संस्कार र संस्कृती संरक्षण हुन नसक्नु दुखद भएको जनाउँदै पर्वतीय पर्यटनको विकासलाई उजागार गर्दै लैजानुपर्ने आवश्यकता औल्याए ।
भुगोलविद् प्रा.डा. कृष्ण केसी कोरोनाले पर्यटनमा चुनौती थपेको जनाउँदै अब पर्यटन चलायमानका लागि नयाँ खोज र सोचको आवश्यकता रहेको बताए । उनले पर्यटन संस्कृतिको विकासको वातावरण बनाउन आवश्यक नीति निर्माण गरी त्यसको कार्यान्वयनमा जोड दिनुपर्ने भनाइ राखे ।
पर्यटनका अध्येता एवम् रिक्यापका अध्यक्ष श्रीकान्त खतिवडाले नेपालमा पर्वतीय पर्यटनको प्रचुर सम्भावना रहेको प्रष्टाउँदै यसको विकासका लागि रणनीति योजना सहितका कार्यक्रमहरु तय हुन नसकेको बताए । नेपालको पर्यटनको इतिहास हिमालबाट शुरु भएको जनाउँदै मौरिस हर्जोकले नेपाल चिनाउन गरेको योगदान सदा स्मरणीय रहेको उल्लेख गरे । उनले नेचर, कल्चर र एडभेन्चरले भरीपूर्ण देश नेपालमा योजनावद्ध र दिगो तवरबाट विकासको खाँचो रहेको औल्याए ।
सो अवसरमा कुलपति गुरुङले प्रकाश थापाद्धारा लिखित पुस्तक “लाङटाङ देखि लण्डन”सम्मको विमोचन गरेका थिए । उक्त पुस्तकबारे नेपाल पर्वतारोहण संघ (एनएमए) गण्डकीका अध्यक्ष शेषकान्त शर्माले पुस्तकले हिमालको परिवेशको यथार्थलाई निकै जीवन्त रुपमा समेटेको र पुस्तक पढ्नेहरुलाई घुम्न प्रेरित गर्ने बताए । लेखक थापाले हिमालसँग दशवर्षको अनुभव र २० वर्षको मेहनतबाट नेपालको भुभाग र हिमालको महत्वलाई पुस्तकमा उतारेको बताए । जीवनको अन्तिम लक्ष्यनै उचाइ भएको जनाउँदै जुन उचाइ नेपालमा रहेकाले पनि पर्यटन क्षेत्रमा पुस्तकले थप टेवा पुर्याउने विश्वास व्यक्त गरे ।
नेपाल पर्यटन बोर्डका पूर्व सदस्य टिकाराम सापकोटा , बासु त्रिपाठि, सोफोका कोषाध्यक्ष लक्कि कार्की, उपाध्यक्ष हरि त्रिपाठी लगायतले नेपालका चुचुराहरुको प्रोफाइल तयार गरी प्राकृतिक र सांस्कृतिक जोगाउन सके मात्रै दिगो पर्यटन सम्भव हुने धारणा राख्दै सरकारले पर्यटन मैत्री नीति ल्याउनु पर्नेमा जोड दिए ।
रिक्यापका महासचिव रामजी शर्माले पर्यटनको सैद्धान्तिक ज्ञान र व्यवसायिक अनुभव भएका व्यक्तिहरुको सामुहिक धारणाबाट पर्यटन क्षेत्रको विकासको लागि समृद्धिको खाका तयार गर्न सकिने बताए । कार्यक्रममा पर्यटन क्षेत्रका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।