पशु उद्यमबाट प्रफ्ल्ल जैमिनीका एक युवा


     एभरेस्ट आवाज    
     पौष १ गते २०७८ मा प्रकाशित




बागलुङ । पशु उद्यमबाट जिल्लाको जैमिनी नगरपालिका १ कुश्मिशेराका एक युवाले राम्रो सफल्ता पाएका छन् । कोरोना सङ्क्रमणपछि गोबिन हमाल युनाइटेड अरब इमिरेटस् (युएई)बाट घर फर्केपछि हाल पशुपालन व्यवसायबाट राम्रो आम्दानी गर्न सफल भएका हुन् ।

“विदेशबाट फर्केपछि भैँसी फार्म खोल्ने निधोमा पुगे”, हमालले भने । नयाँ व्यवसाय गर्ने सोच पलायो । भैँसी फार्म खोलेपछि विदेश बिर्सदै गएको हमालको भनाइ छ । हमालको गोठमा हाल ११ भैँसी, एक गाई, २५ बाख्रा र ५० कुखुरा छन् । हमालले कृषि तथा पशु फार्म दर्ता गरेर भैँसी बाख्रा पाल्दै आएका छन् । त्यससंगसंगै उनले तरकारीखेती समेत गरिरहेका छन्।

“विदेशमा १५ वर्ष बिताए, कोरोना नभएको भए अझै उतै हुन्थे”, हमालले भने, “अहिले दैनिक ९० लिटर दूध उत्पादन भइरहेको छ, बजारमा आफै लगेर बिक्री गर्छु, विदेशमा भन्दा परिवारसँगै बसेर काम गर्दा निकै आनन्द लाग्यो, अब यही काम गर्छु ।” उनलेरु एक लाख ७० हजारदेखि रु एक लाखसम्मका भँैसी खरिद गरेर व्यवसाय सुरु गरेहका हुन् ।

उनको व्यवसायमा श्रीमती खगी, छोरी विपना र छोरा पवनले सहयोग गर्दै आइरहेका छन् । वार्षिक रु २० हजार भाडामा तीन रोपनी जग्गा लिएर हमालले फार्म स्थापना गरेका हुन् । उनले उत्पादन गरेका खसी बोकासमेत स्थानीय कुश्मिशेरा बजारमा खपत हुने गरेका छन् । हमालले फार्ममा हालसम्म रु ५० लाख लगानी गरेका छन् भने मासिक रु दुई लाख ४० हजार आम्दानी गर्दै आईरहेका छन् । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।