बजेट ८० प्रतिशत भन्दा बढी कार्यान्वयन गर्न अर्थमन्त्री बरालको निर्देशन


     एभरेस्ट आवाज    
     पौष ६ गते २०७८ मा प्रकाशित




पर्वत ६, पुष

गण्डकी प्रदेशका अर्थ मन्त्री रामजीप्रसाद बराल जीवनले यस चालु आर्थिक बर्ष ८० प्रतिशत बजेट कार्यान्वयन गर्न निर्देशन दिएका छन् । गण्डकी प्रदेशको अर्थ मन्त्रालयले मंगलबार पर्वतमा आयोजना गरेको बजेट कार्यान्वयन र आर्थिक अनुशासन सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री बरालले सिमित श्रोत साधनको अधिकत्तम प्रयोग गरी न्यूनतम ८० प्रतिशत बजेट कार्यान्वयन हुने गरी काम गर्न प्रादेशीक कार्यालयहरुलाई निर्देशन दिएका हुन् ।

कठीन अबस्थाका बाबजुद आफ्नो कार्यभार समयमै सक्ने गरी काम गर्नुपर्ने दायित्व बोध गर्न आग्रह गर्दै मन्त्री बरालले कसैलाई दोष देखायर उम्किन नपाइने चेतावनी दिए । जिल्लामा बास्तविकता बुझ्नको लागि हाल जिल्लागत प्रादेशिक कार्यालयहरुका प्रमुखहरुसंग छलफलमा जुटेको बताउदै मन्त्री बरालले गत बर्षको ७३ प्रतिशत बजेट खर्च भएकोले यस बर्ष थप बजेट खर्च गरी नतिजा दीन चुनौती भएको बताए । नेपालमा अझै पनि परम्परागत कार्यशैली हुने गरेको र त्यो आफूलाई सह्य नहुने मन्त्री बरालको भनाई थियो ।

अर्थ मन्त्रालयका सचिव बैकुण्ठ प्रसाद अर्यालले पाचौं महिनामै रकमान्तर नहुने बताए । उनले तेश्रो चौमासिकमा मात्र अबस्था हेरी रकमान्तर गर्न सकिने बताए । पर्वत जिल्लाको संक्षिप्त कार्यप्रगती पेश गर्दै सचिव अर्यालले चालु आर्थिक बर्षको पहिलो चौमासिकमा पर्वतमा सडक तर्फ ८ प्रतिशत, भवन तर्फ ३ प्रतिशत मात्र खर्च भएको उल्लेख गरे । स्विकृत भएका कर्मचारीलाईको तलव भत्ताको व्यबस्था गर्ने अर्यालले बताए ।

पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख कृष्ण आचार्यले कार्यक्रम योजना कार्यान्वयनमा द्वन्द्व, १० लाख भित्रका ५१ वटा योजना, कर्मचारी अभाव र दशैंसम्म पानी परेको कारण बजेट कार्यान्वयनमा कठिनाई भएको बताए । रकमान्तर सहित थप ८ करोडको दाहित्य सृजना भएको आचार्यले बताए ।

भू–संरक्षण कार्यालयका प्रमुख शम्भु कुमार सिंहाले २ लाख देखि २० लाखका ८३ वटा योजनाहरु रहेको बताए । बस्ती तथा सार्वजनिक स्थलमा भन्दा व्यक्तिको लागि बजेट विनियोजन भएको उनले उल्लेख गरे । सीप विकास कार्यालयका सन्तोष पौडेलले तालिमहरु बजार केन्द्रित भएको गुनासो गरे । कृषि ज्ञान केन्द्र पर्वतका आसिस पाण्डेले गत बर्ष ४ करोड साना सिंचाई योजनामा परेको बजेट मध्य यस बर्ष करिब ७० लाख मात्र परेको गुनासो गरे ।

स्वास्थ्य कार्यालय पर्वतका निमिक्त प्रमुख सन्तोष पौडेलले १८ बर्ष माथिका करिब ८१ प्रतिशत पहिलो चरणको कोरोना बिरुद्धको खोप उपलब्ध गराइएकोे जानकारी दिए । कोभिड बिरुद्धको खोप व्यबस्थापनको लागि कोल्ड रुम स्थापना गर्न आवश्यक भएको उनले बताए ।
जिल्ला आयुर्वेदीक अस्पतालका डा।किरण कमल बस्ताकोटीले लेखा अधिकृत नभएको सवारी साधनको अभाव भएको गुनासो गरे । कार्यालय भवन नै जिर्ण भएको उनले बताए । जलश्रोत तथा सिंचाई डिभिजन कार्यालय पर्वतका थलबहादुर तामाङले विभन्नि योजनामा श्रमदान प्राय शुन्य जस्तै भएको दाबी गरे । विभिन्न संघ संस्था र तीन तहका सरकार बिच समन्वय समेत नमिलेको उनले गुनासो गरे ।

पर्वतका प्रमुख जिल्ला अधिकारी देवि पाण्डे खत्रीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रदेशका विभिन्न कार्यालयका प्रमुख एवं प्रतिनिधिहरुले कर्मचारी अभाव, सवारी साधानको अभाव, विनियोजित बजेट कम विनियोजन भएको तथा साना र धेरै योजना समेटिएको गुनासो गरेका थिए । प्रहरी चौकी कार्यालय सहितका भौतिक संरचनामा प्रदेश सरकारले आर्थिक सहयोग गर्न प्रजिअ खत्रीले माग गरे । विपद्मा परेकाहरुको तत्काल राहत र उद्धारमा प्रदेश सरकारको भूमिका केही कम भएको उनले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।