समाचार प्रभाव : होस्टल वार्डेन पक्राउ


     एभरेस्ट आवाज    
     पौष ६ गते २०७८ मा प्रकाशित




साङ्केतिक तस्विर

पोखरा । पाँच वर्षीय बालकमाथि अमानवीय कार्य गर्ने पोखराकी होस्टल वार्डेन पक्राउ परेकी छन् ।


पोखरा महानगरपालिका वडा नम्बर १५ गलेश्वरचोकमा रहेको न्यू–लाईफ स्कुल (होस्टल)मा आश्रित पाँच वर्षीय बालक रेमन बुढाको पिसाब फेर्ने ठाउँ (लिङ्ग)मा रबरले बाँधिदिने सो होस्टलकी वार्डेन जानुका नेपालीलाई कास्की प्रहरीले पक्राउ गरेको हो ।

हिमालयन गुडलाईफ काठमाडौंद्वारा सञ्चालित उक्त होस्टलकी वार्डेन नेपालीलाई मंगलबार नै जिल्ला अदालत कास्कीमा उपस्थित गराई अनुसन्धानका लागि पाँच दिन म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) रमेश थापाले जानकारी दिए ।

होस्टल वार्डेन नेपालीले ओछ्यानमा पिसाब फेर्छ भनेर ती बालकको पिसाब फेर्ने ठाउँ (लिङ्ग)मा बाँधिदिएका थिए । पछि उनी होस्टलबाट आफू अध्ययन गर्ने पोखरा–१५ फलेपाटनस्थित सिद्ध मावि गएपछि त्यहाँका शिक्षकहरुले थाहा पाएपछि खोलिदिएका थिए । खोल्दा उनको लिङ्ग रबरले बाँधिएको अवस्थामा नै थियो भने लिङ्गमा रबरको डाम र पेट फुल्लिएको थियो । उक्त समाचारको एभरेस्ट एमएम ९३ मेगाहर्ज र एभरेस्ट आवाज डटकमले सार्बजनिक गरेपछि कास्की प्रहरीले मंगलबार चासो दिएर होस्टल वार्डेन नेपालीलाई पक्राउ गरेको हो ।

यो पनि पढ्नुहोस्

यस्तो छ घट्ना विवरण, पढ्नु होस्

जानुकाले होस्टलमा रहेका छात्रहरुको पिसाब फेर्ने ठाउँ (लिङ्ग) मात्र होईन छात्रा (केटी)हरुलाई पनि यातना दिने गरेको बताईन्छ । उनले ओछ्यानमा पिसाब फेरेको दिन जसले पिसाब फेरेको हो उक्त छात्राको पिसाब फेर्ने (गुप्ताङ्ग)मा मैनवत्ती बालेर झोसिदिने, मैनवत्तीको पग्लेको भाग झारिदिने गरेको पीडितको आरोप छ ।

जानुकासँगै होस्टल सञ्चालक राहुल नेपालीलाई पनि प्रहरीले पक्राउ गरेको थियो । तर घटनामा संलग्नता नदेखिएपछि उनलाई छाडिएको एसपी थापाले बताए । घटनामा जानुकाको भने संलग्नता देखिएको उनले बताए । ‘घटना भएको प्रमाण हामीले फेला पारेका छौं । यसलाई मसिनो गरि अनुसन्धान गरिरहेका छौं हामी’–एसपी थापाले भने । प्रारम्भिक अनुसन्धानमा घटना जानुकाले नै घटाएको हो भन्ने प्रहरीको निश्कर्ष छ । तर अनुसन्धान भइरहेकाले थप बोल्न नमिल्ने एसपी थापाको भनाई छ । घटना घटाएको पुष्टि भए जानुकालाई कारवाही गर्ने उनले बताए ।

पक्राउ परेकी नेपालीलाई बालबालिका ऐन अन्तर्गतको कसुरमा कारवाही गरिने एसपी थापाले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।