तेर्सापट्टीमा आज नेवारी परिकार महोत्सव हुँदै


     एभरेस्ट आवाज    
     पौष १५ गते २०७८ मा प्रकाशित




पोखरा महानगरपालिका वडा नम्बर ३ तेर्सापट्टीमा रहेको तेर्सापट्टी बुहारी समूहले संस्कृति बचाउन नेवारी परिकार बनाउन सिकाउने भएको छ।

नेवारी परिकारहरु चुलोमा पाक्न छाड्दा संस्कृति नै लोपोन्मुख हुने अवस्थामा पुगेपछि तेर्सापट्टी बुहारी समूहले आज समूहभित्रका महिलाहरुलाई नेवारी परिकार पकाउन सिकाउन लागेको हो।

साथै सम्पूर्ण महिलाहरुलाई उद्यमी बनाउँदै आर्थिक सशक्तिकरण गर्ने उद्धेश्यले तालिम दिन लागिएको समूहले जनाएको छ।

समूहले आफ्नो समूहमा आबद्ध ३० भन्दा बढी महिलालाई नेवारी परिकारहरु निःशुल्क रुपमा पकाउन तालिम दिन लागेको समूहकी अध्यक्ष नीलम उदासले जानकारी दिईन्। तेर्सापट्टी बुहारी समूहको आयोजनामा हुने तालिममा जोःजलपा नेवारी किचनका सेफले तालिम दिने उनले बताईन्। उनका अनुसार तालिममा योमरी, छोयला, समयबजी, चटामरी, बारा, तखला (बफ ग्रेभी), सन्यखुन्य (सिद्राको परिकार)लगायत पकाउन सिकाईनेछ। तालिममा भिन्तुना युवा क्लव तेर्सापट्टीले व्यवस्थापन सहयोगीका रुपमा सघाएको छ।

प्रारम्भिक तालिम शुरु भइसकेको छ। आज नै बृहद तालिमसहित ‘नेवारी परिकार उत्सव’ समेत आयोजना गर्ने बुहारी समूहको तयारी छ। ‘हामीले सिकाईरहेका छौं, आज चाहिं प्रशिक्षार्थीहरुले पकाएका परिकारहरु चाख्न पाउनेगरी तेर्सापट्टीमा ‘नेवारी परिकार उत्सव’ गर्दैछौं–अध्यक्ष उदासले भनिन्। उनका अनुसार फुड फेष्टिभलमा पकाएका कुरा लाइभ हेर्न पाइनेछ। आज प्रशिक्षार्थीहरुलाई विहानैदेखि पकाउन सिकाइनेछ भने पूर्वाह्न ११ बजेदेखि अपराह्न ४ बजेसम्म ‘नेवारी परिकार उत्सव’ कार्यक्रम रहनेछ। उत्सवमा सहभागिहरुलाई भारी छुटमा परिकारहरु चखाइने समूहले जनाएको छ।

लोपोन्मुख संस्कृति जोगाउँदै महिलाहरुलाई उद्यमी बनाउन प्रेरित गर्ने र आर्थिक सशक्तिकरण गर्ने उद्धेश्यले तालिम तथा ‘नेवारी परिकार उत्सव’ गर्न लागिएको नेवा मिसा पुचःकास्कीकी निवर्तमान अध्यक्ष शान्ती उदासले बताईन् । उनले आगामी वर्षमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताईन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।