आविष्कार केन्द्रलाई श्रीपति समाजसेवा पुरस्कार


     एभरेस्ट आवाज    
     पौष १८ गते २०७८ मा प्रकाशित




‘श्रीपति समाजसेवा पुरस्कार–२०७८’ बाट राष्ट्रिय आविष्कार केन्द्र काठमाडौँलाई पुरस्कृत गरिएको छ ।

पोखरा महानगरपालिका–९ महेन्द्रपुलमा रहेको श्रीपति कोइराला गुठीले स्थापना गरेको सो पुरस्कार संस्थाको २९ औँ वार्षिक साधारणसभाका अवसरमा केन्द्रका प्रमुख महावीर पुनलाई हस्तान्तरण गरेको हो।

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा डा जगमान गुरुङले २ लाख २२ हजार २ सय २२ रुपैयाँसहित ताम्रपत्र र समाज सेवा पदकद्वारा पुरस्कार प्रदान गरेका हुन्।

विज्ञान, प्रविधिका क्षेत्रमा क्रियाशील पुनले स्थापना गरेको आविष्कार केन्द्रले नेपालको विज्ञान, शिक्षा, सामाजिक क्षेत्र, उद्यम र वायरलेस नेटवर्किङ आविष्कारको क्षेत्रमा काम गर्दै आएको छ।

म्याग्दीको नाङ्गीमा जन्मिएका पुन स्वयं नेपालका बहुचर्चित व्यक्तित्वमध्ये एक हुन्। उनी नेपाली वैज्ञानिक, शिक्षक, सामाजिक उद्यमी एवं वायरलेस नेटवर्किङका आविष्कारकका रुपमा चिनिन्छन्।

पुनले नेपालको उच्च तथा हिमाली दुर्गम गाउँहरुका लागि ताररहित प्रविधि (नेपाल वायरलेस नेटवर्किङ परियोजना) को विकास गरेका छन्।
पुनको उक्त परियोजनालाई अशोका फाउन्डेसन, रमन म्याग्सेसे फाउन्डेसन, नेब्रास्का विश्वविद्यालय र ग्लोबल आइडियाज बैंकले समेत मान्यता दिएको छ।

केन्द्रको उद्देश्य प्रतिभा खोजेर अनुसन्धानमार्फत सिर्जना गर्ने र सिर्जनालाई उत्पादनसँग जोडेर देशमा समृद्धि ल्याउने रहेको स्पष्ट पारे। सो अवसरमा विद्यार्थी र विभिन्न समाजसेवीहरूलाई श्रीपति शिक्षा पुरस्कार र श्रीपति विद्या पदकद्वारा विभूषित गरिएको संस्थाका अध्यक्ष लक्ष्मण कोइरालाले जानकारी दिए।

कार्यक्रममा पोखराका विभिन्न क्याम्पसहरुबाट सर्वोत्कृष्ट अंक ल्याएर उत्तीर्ण हुने विद्यार्थीलाई ७ हजार नगदसहित श्रीपति विद्यापदकद्वारा सम्मान गरेको थियो।

सर्वोत्कृष्ट अंक ल्याउने पीएन क्याम्पसका सबै संकायबाट १/१ जना तथा ईञ्जीनियरिङ कलेजबाट १, वन विज्ञान क्याम्पसबाट १, चिकित्साशास्त्र अन्तर्गत नर्सिङ क्याम्पसबाट १, पोखरा विश्वविद्यालयबाट १ जना विद्यार्थीलाई ७ हजार नगदसहित श्रीपति विद्यापदकबाट सम्मान गरेको थियो।

त्यसैगरि, नविन मावि, महेन्द्र मावि, वाराही मावि र राष्ट्रिय उच्चमाविमा अध्ययरत १/१ जना विपन्न तथा जेहेन्दार विद्यार्थीलाई ५ हजार रुपैयाँको छात्रवुत्ति प्रदान गरेको थियो। चिसाखोला वेद विद्याश्रमका विपन्न जेहेन्दार १ र जेहेन्दार १ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको थियो।

नेपालभर मानवीय एवं स्वयंसेवी भावनाबाट अभिप्रेरित भई समाजमा मानवीय विपद्मा उद्धार र राहत सहयोग, शिक्षा, संस्कृति, स्वास्थ्य सेवा, विज्ञान प्रविधि, सामाजिक जागरण र सामुदायिक विकासका क्षेत्रमा विशेष सेवा गर्ने व्यक्ति वा संस्थाहरू मध्यबाट पुरस्कार छनोट नियमावलीका आधारमा छनोट समितिको सिफारिसमा पुरस्कार प्रदान गरिँदै आइएको गुठीले जनाएको छ।

विसं १८६४ असार २७ गते पोखरा–४ गैहपाटनमा जन्मिएका श्रीपतिले विसं १८९० मा पोखराको महेन्द्रपुल र विसं १८९९ मा पर्वतको काली नदी किनार मडीकुवामा जग्गा खरिद गरी गुठी स्थापना गरेका थिए। उनै श्रीपति कोइरालाबाट स्थापित दुवै गुठीलाई उनका सन्तानबाट निरन्तर समाजसेवाका गतिविधिमार्फत संचालन भइरहेका छन्।

कार्यक्रममा उपकुलपति गुरुङले बोल्दै व्यक्ति मर्यादित भए समुदाय मर्यादित हुने र समुदाय मर्यादित भए राष्ट्र मर्यादित हुने उल्लेख गरे । श्रीपति कोइराला गुठीले धर्म, संस्कार र संस्कृति संरक्षणमा खेलेको भूमिकाको प्राज्ञ डा. गुरुङले प्रशंसा गरे।

सम्मानित संस्था आविष्कार केन्द्रका प्रमुख पुनले देशको अर्थतन्त्र सुधार गर्न आवश्यक रहेको औंल्याए। उनले सबै नेपालीले सिर्जनशीलतामा जोड दिनुपर्ने र प्रविधिको विकासका लागि अनुसन्धानमूलक कार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।