कर्णाली र सुदुरपश्चिम प्रदेश सरकार संकटमा, कर्णालीमा कांग्रेसका मन्त्रीको सामुहिक राजिनामा, सुदुरपश्चिममा एमालेका मन्त्री नै बर्खास्त


     एभरेस्ट आवाज    
     असार ३१ गते २०८३ मा प्रकाशित




कर्णाली र सुदुर पश्चिम प्रदेशको सत्ता गठबन्धन संकटमा परेको छ ।

नेपाली कांग्रेस र एमाले बिच भएको सत्ता गठबन्धन पछिल्लो समयमा आएर संकटमा परेको हो ।कर्णाली प्रदेश सरकारबाट कांग्रेसका मन्त्रीहरुले सामूहिक राजीनामा दिएका पछि सरकार नै धर्रमराएको छ । आर्थिक मामिला मन्त्री राजीवविक्रम शाह, जलस्रोत मन्त्री विजया बुढा, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी र उद्योग, पर्यटन, वन तथा वातावरण सुरेश अधिकारीले आज राजीनामा दिएका हुन् । बिहान बोलाइएको क्याबिनेट बैठकमा चारैजनाले राजीनामा पत्र मुख्यमन्त्री यामलाल कँडेललाई बुझाएको अधिकारीले जानकारी दिए ।हाल कर्णाली प्रदेश सरकारको नेतृत्व एमालेले गरिरहेको छ । कँडेल मुख्यमन्त्री बन्दा आलोपालो सरकारको नेतृत्व गर्ने सहमति दुई दलबीच भएको थियो । तर सो सहमति पालना नभएकाले राजीनामा दिएको मन्त्रीहरुले बताएका छन् । कँडेल २०८० साल चैत २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।त्यहाँ एमाले र नेकपाबिच सत्ता गठबन्धन हुन सक्ने बताईएको छ ।

यता सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका सबै मन्त्रीलाई बर्खास्त गरेका छन् । मन्त्रीहरू भौतिक पूर्वाधार विकास मन्त्रीमा सुरेन्द्र पाल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा वीरबहादुर थापा, आन्तरिक मामिला तथा कानुनमन्त्री हीरा सार्की, भौतिक पूर्वाधार विकास राज्यमन्त् निर्मला साउदलाई शाहले बर्खास्त गरेका छन् ।यसअघि मुख्यमन्त्री शाहले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एमालेका मन्त्रीहरूलाई सामूहिक रूपमा बोलाएर बजेटबारे पार्टीको आधिकारिक धारणा मागेका थिए ।

सकारात्मक जवाफ नआएपछि उनले मन्त्रीहरु नै बर्खास्त गरेको स्रोतले जनाएको छ । एमाले सांसदहरूले बजेटविरुद्ध खर्च कटौती प्रस्तावसमेत दर्ता गरेपछि दुई पार्टीबिच विवाद चुलिएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।