पोखरा, माघ १
पोखराको याम्दीमा ‘जायन्ट स्वीङ’ थपिएको छ । साहसिक खेलकुदको गन्तव्य स्थल भनेर चिनिने पोखरामा एकैपटक ३ जनाले स्वीङ गर्न मिल्ने ‘जायन्ट स्वीङ’ थपिएको हो । पोखराको याम्दीमा रहेको हाइग्राउण्ड एडभेन्चर्स नेपालले ‘जायन्ट स्वीङ’ सञ्चालनमा ल्याएको जनाएको छ । ३ जनाले एकैपटक गर्न मिल्ने ‘जायन्ट स्वीङ’ यो नेपालकै पहिलो भएको कम्पनीको दाबी छ । साथै यो नेपालकै सबैभन्दा अग्लो भएकोपनि दाबी गरिएको छ ।

हाइग्राउण्ड एडभेन्चर्स नेपालले एकदशक अघि जिपलाइनबाट एडभेञ्चर्स स्पोर्ट्सको व्यवसाय शुरु गरेको थियो । त्यसको २ वर्षपछि बञ्जी जम्प शुरु गरेको यो कम्पनीले एकैपटक दुई जनाले बञ्जी गर्न मिल्ने टेण्डम सेवा र जीपलाईनमा ‘सुपरम्यान जीपलाइन’ प्रोडक्टपनि थपेर सेवा दिइरहेको छ ।
आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर पछिल्लो पटक ‘जायन्ट स्वीङ’ थपेको कम्पनीका निर्देशक दीनेश महर्जनले बताए । ‘जायन्ट स्वीङ’ सबै उमेर समूहका लागि उपयुक्त हुने उनको भनाई छ । ‘जायन्ट स्वीङ सबै उमेर समूहका लागि हो । यसमा ८ वर्षको बालबालिकादेखि ७० वर्षको बृद्धबृद्धापनि रमाउन सक्छन्’—उनले भने ।
जायन्ट स्वीङको ‘थ्रिल’अनुभव तीन मिनेटको हुन्छ । यो खोलाको लेबल भन्दा ६० मिटर माथि बनाइएको छ । त्यस भन्दा ३० मिटर माथि लगेर स्वीङ गराईन्छ । त्यसैले यसको उचाई जमिनको सतह भन्दा ९० मिटर माथि रहने निर्देशक महर्जनले बताए । ‘जायन्ट स्वीङ’का लागि ३० मिटर अग्लो फलामे टावर राखिएको छ । दुईवटा टावरको बिचमा सिट वटा सिट राखिएको छ । जहाँ स्वीङ गर्ने व्यक्तिलाई बेल्टले बाँधेर राखिन्छ । त्यसपछि सिटमा बसेका पाहुनाई ३० मिटर माथि पु¥याएर छाडिन्छ । त्यसपछि स्वीङ गर्नेहरु हुत्तिएर खोलातर्फ जाने र फर्किने हुँदै मनोरञ्जन लिन्छन् ।
हाईग्राउण्ड एडभेञ्चर्स नेपालले ‘जायन्ट स्वीङ’लाई पारिवारिक प्रोडक्ट भनेको छ । परिवारका सदस्यहरुले एकैपटक खेल्न मिल्ने भएकाले यसलाई पारिवारिक प्रोडक्ट भनिएको अर्का निर्देशक शरद गोल्छाले बताए । उनले दशैंमा खेलिन लिंगे पिङकोजस्तै मज्जा हुने भन्दै उनले भने,‘यो निकै साहसिक र थ्रिल हुन्छ । ३० मिटर माथिबाट हुत्तिएर खोलातर्फ हुत्तिदा खोला सतहको झण्डै एक सय मिटर तलको भाग अनुभव गर्दा निक्कै मज्जा र आनन्द आउँछ ।’
कम्पनीले ‘जायन्ट स्वीङ’को लागि प्रतिव्यक्ति २ हजार रुपैयाँ टिकटदर तोकेको छ ।
निर्देशक गोल्छाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउने हो भने पोखरामा पर्यटक ह्वात्तै बढ्ने बताए । त्यहि भएरपनि आफूहरुले जायन्ट स्वीङसहितका प्रोडक्टहरु थपेको उनको भनाई छ । उनले छिट्टै अन्य प्रोडक्टहरुपनि थप्ने योजना रहेको बताए ।
अर्का निर्देशक अभिनव चुरिवालले कोरोनाका कारण जायन्ट स्वीङको लञ्चिङमा ढिलाई भएको बताए । ‘हामीले झण्डै एक डेढ वर्ष अघि नै यो प्रोडक्ट लञ्चिङ गथ्र्यौं तर कोरोनाका कारण ढिला भयो’–उनले भने ।
एउटै परिसरमा तीनवटा फरक÷फरक गतिविधिका प्रोडक्ट भएकाले सबैलाई रमाउने गरि एकीकृत प्याकेज बनाइएको अर्का निर्देशक भरत गोल्छाले जानकारी दिए । बञ्जी, जीपलाइन र स्वीङका लागि प्रतिव्यक्ति १० हजार रुपैयाँ प्याकेजमा टिकटदर तय गरिएको उनले बताए । तर छुट्टाछुट्टै गर्दा जीपलाइनको मात्र ५ हजार, बञ्जीको ४५ सय र स्वीङको २ हजार रुपैयाँ पर्ने गर्छ ।
हाईग्राउण्ड एडभेञ्चर्स नेपालद्वारा सञ्चालित जीपलाईन, बञ्जी र जायन्ट स्वीङसमेत गरेर हालसम्म २६ करोड लगानी भइसकेको छ । पछिल्लो पटक थपिएको जायन्ट स्वीङमा मात्र २ करोड लगानी भएको निर्देशक गोल्छाले बताए ।
कम्पनीमा शरद गोल्छा, भरत गोल्छा, अभिनव चुरिवाल र दीनेश महर्जन गरि ४ जनाको लगानी रहेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







