पोखराको पृथ्वीचोकस्थित बसपार्कमा यहाँबाट बाहिर जाने र बाहिरबाट पोखरा भित्रने सवारी साधनमा आज (आइतबार) विहानैदेखि प्रहरीले कडा चेक जाँच गरेको छ।
विश्वभर महामारीको रुपमा फैलिएका कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको ग्राफ कास्कीमा पनि उकालो लाग्न थालेपछि सवारी साधनका चालक, सहचालक र यात्रुहरुमा चेक जाँच सुरु गरेको हो।
सवारी साधनको चालक, सह–चालक र यात्रुहरुका लागि अनिवार्य रुपमा मास्क, स्यानिटाइजर र खोप कार्डको अनुगमन गरेको कास्की जिल्ला ट्राफिक कार्यालयका सूचना अधिकारी प्रहरी नायव निरीक्षक शिव पाठकले जानकारी दिए।
कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनसहितको संक्रमण फैलिदै गएकाले त्यसको रोकथाम तथा नियन्त्रणका लागि कास्कीमा पनि हिँजो (शनिबार)देखि सफ्ट स्मार्ट लकडाउन सुरु भएपछि कास्की प्रहरीले सवारी साधनमा कोरोनासम्बन्धी पालनाको आदेश कार्यान्वयन गराउन अनुगमन स्वरुप चेकजाँच गरिएको पाठकले प्रष्ट पारे।
कोभिड–१९ संकट ब्यबस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिस बमोजिम गृह मन्त्रालयको निर्देशन तथा जिल्ला कोभिड–१९ को पुस २६ गते बसेको बैठकको निर्णयसमेतको आधारमा संक्रामक रोग ऐन २०२० को दफा २, स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) तथा कोभिड–१९ संकट ब्यबस्थापन अध्यादेश २०७८ को दफा ४ बमोजिम कास्की जिल्ला प्रशासन कार्यालयले ८ बुँदे आदेश जारी गरेको थियो।
जिल्ला प्रशासन कार्यालयले शुक्रबार विज्ञप्ति जारी गर्दै कोरोनासम्बन्धी आदेशको प्रभावकारी पालना सम्बन्धमा सुरक्षा निकायहरुबाट नियमित तथा आकस्मिक अनुगमन गरिने र अनुगमनका क्रममा आदेश अवज्ञा गरेको पाइएमा प्रचलित कानून बमोजिम कार्वाही हुने कास्की जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले आज (आइतबार) बिहान पोखराको एभरेस्ट एफएमको ‘पेटबोली’ को संवाद कार्यक्रममा बोल्दै कास्कीमा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनसहितको संक्रमण दिन प्रतिदिन एक सयको संख्यामा बढ्दै गएकोले कोरोनासम्बन्धी पालनाको आदेश पालना गर्न, गराउन आग्रह गरेका छन्।
‘छिमेकी मुलुकमा जस्तै कास्कीमा पनि कोरोना संक्रमण दर बढ्दो छ,’ प्रमुख जिल्ला अधिकारी आचार्यले भनेका छनु, ‘ हिँजो मात्रै कास्कीमा ५८२ जनामा कोरोना संक्रमित थपिएका छन्। त्यसैले यहाँ पनि जोखिम बढ्दो छ। त्यसैलाई मध्य नजरमा राखेर तत्काल नगरी नहुने कामबाहेक मेला, महोत्सव, भेला, सम्मेलन र भिडभाडजन्य गतिविधि नगरुन् नगराउन् भन्ने हाम्रो उद्देश्य हो।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । गण्डकी प्रदेशमा नसर्ने रोगका बिरामीको संख्या बढ्दै गएको तथ्याङ्क सार्वजनिक…






