गण्डकी प्रदेशमा नगरमा २२.५५ र प्रदेश भित्र चल्ने लामा दुरीमा २३.५१ प्रतिशतले बढ्यो भाडा


     एभरेस्ट आवाज    
     माघ ४ गते २०७८ मा प्रकाशित




गण्डकी प्रदेशमा सार्वजनिक यातायातको भाडादर समायोजन भएको छ । गण्डकी प्रदेश सरकारले सार्वजनिक यातायातको भाडादर समायोजन गरेको हो । गण्डकी प्रदेश सरकारको सोमबार बसेको मन्त्री परिषद बैठकले प्रदेश भाडा सिफारिस समितिको प्रतिवेदन अनुसार भाडादर समायोजन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले जानकारी दिए ।

प्रदेश सरकारले सार्वजनिक बस, ट्रक, ट्याक्सीको भाडादर समायोजन गरेको मन्त्री खड्काले जानकारी दिए । उनका अनुसार प्रदेश भित्र लामा दुरीमा चल्ने बसमा २३.५१ प्रतिशत बृद्धि गरिएको छ भने नगर भित्र २२.५५ प्रतिशत भाडादर बृद्धि गरिएको छ । त्यस्तै, ट्रकमा १४.५७ प्रतिशत र जीपमा ५.५ भाडा बृद्धि गरिएको मन्त्री खड्काले जानकारी दिए ।

यसअघी संरकारले २८ प्रतिशतसम्म भाडादर बृद्धि गरेको थियो । ‘संघ सरकारले भाडादर समायोजन गरेपछि गण्डकी प्रदेशमापनि भाडादर बृद्धि गर्नुपर्ने हो वा नपर्ने हो ? गर्नुपर्ने हो भने कति बृद्धि गर्नुपर्ने हो ? भन्नेबारेमा प्रदेशको भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयका सचिवको संयोजकत्वमा एउटा भाडादर सिफारिस समिति गठन भएको थियो, सोहि समितिको सिफारिस अनुसार मन्त्री परिषद बैठकले भाडादर समायोजन गर्ने निर्णय गरेको हो’–उनले भने ।

प्रदेश सरकारले ट्याक्सीमा मिटर प्रणाली लागु गर्ने निर्णय गरेको छ । ट्याक्सीको भाडादर समायोजन गर्नुका साथै ट्याक्सीमा मिटर प्रणाली लागु गर्ने निर्णय प्रदेश सरकारले गरेको मन्त्री खड्काले बताए । सरकारले ट्याक्सीमा फ्ल्याग डाउनमा १५ किलोमिटरसम्मको ८० रुपैयाँ कायम गर्नुका साथै प्रत्येक २०० मिटरमा १० रुपैयाँका दरले भाडा समायोजन गरेको उनले जानकारी दिए । १५ किलोमिटर भन्दा बढी दुरीमा भने यो नियम नहुने उनले बताए । ‘१५ किलोमिटर माथिको दुरीमा प्रति किलोमिटर ३७ रुपैया ५० पैसाका दरले भाडादर कायम गरिएको छ’–उनले भने ।

सरकारले ट्याक्सीमा बिलसहितको मिटर अनिवार्य गरेको छ । मन्त्री परिषदको निर्णय जानकारी गराउँदै मन्त्री खड्काले भने,‘पुराना ट्याक्सीले निश्चित समयअवधीमा ट्याक्सीमा मिटर राखिसक्नुपर्छ, नया ट्याक्सीले किन्दाखेरी नै बिलसहितको मिटर जडान गर्नुपर्ने प्रावधान अनिवार्य गरेको छ ।’ त्यस्तै, ट्याक्सी चालकलाई पोषाक अनिवार्य गरिएको छ भने ट्याक्सीमा अन्र्तराष्ट्रिय मापदण्ड र ऐनले तोके अनुसारको रंग लगाउन भनेको छ । त्यसका साथै ट्याक्सी चालकले आफ्नो नाम, ट्याक्सी नम्बरसहितको परिचय पत्र यात्रुले देख्ने गरि राख्नुपर्ने तथा यात्रुलाई परिचय खुल्ने भिजिटिङ कार्ड उपलब्ध गराउनुपर्ने प्रावधान बनाएको मन्त्री खड्काले जानकारी दिए ।

प्रदेश सरकारले बस स्टपबाहेक अन्य ठाउँमा बस रोक्न नपाउने नियम बनाएको छ । पोखरामा हाल भद्रगोल रुपमा बस रोक्ने गरिएको छ । बस स्टप भन्दा १०÷१५ मिटर वरपरदेखि यात्रुले हात उठाएर संकेत गरेको खण्डमा जहाँसुकैपनि बस रोक्ने गरिएको छ । जसले गर्दा दुर्घटनाको जोखिम हुनुका साथै ट्राफिक ब्यबस्थापन भद्रगोल हुँदै आएको थियो । तर अब सरकारले बस स्टप बनाईदिने र सो बस स्टपबाहेक अन्य ठाउँमा कडाईका साथ बस रोक्न निषेध गरिने मन्त्री खड्काले बताए । त्यस्तै बसमा अनिवार्य जिपिएस जडान गर्नुपर्ने प्रावधान राखिनुका साथै अब नया बस खरिद गर्दा अटोमेटिक रुपमा ढोका लाग्ने खालको बस राख्नुपर्ने प्रावधान राखिएको छ । ‘ढोका खुल्ला हुँदा झुण्डिएर यात्रा गर्ने, जसका कारण यात्रु दुर्घटनामा परेर घाईते, अपाङ्ग हुनुका साथै मृत्यूसमेत हुने गरेकाले अटोमेटिक ढोका बन्द हुने बस अनिवार्य गर्ने निर्णय भएको छ’–उनले भने । उनले बसमा भाडा तिर्दा कार्ड सिस्टमबाट तिर्ने व्यवस्था गर्नुपर्ने प्रावधान राखिएको बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।