बाख्रापालक भन्छन् : किसान महान ।


     एभरेस्ट आवाज    
     माघ ४ गते २०७८ मा प्रकाशित




पोखरामा बाख्रा दिवस मनाइएको छ । नेपाल व्यवसायीक बाख्रापालक महासंघको आयोजनामा मंगलबार पोखरामा प्रथम राष्ट्रिय बाख्रा दिवस मनाइएको हो । ‘नेपाल, बाख्रा र हामीसँगै’नारासहित मनाइएको बाख्रा दिवसमा बाख्रापालक किसानले सरकारले किसानलाई अपहेलित गरेको गुनासो गरे ।

कार्यक्रममा नेपाल व्यवसायीक बाख्रापालक महासंघ गण्डकी प्रदेश अध्यक्ष तथा केन्द्रीय उपाध्यक्ष धन श्रीस मगरले सरकारले किसानलाई हेपेको आरोप लगाए । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीलाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गरेपनि नआएको, कृषिको प्रदेश निर्देशनालयलाई चिठी र मौखिक निम्तो गरेपनि नआएर बाख्रापालक किसानलाई हेला गरेको उनको भनाई थियो । ‘हामीले लिखित चिठीपनि पठाएका हौं, मौखिक रुपमा पनि पटक÷पटक जानकारी गराउँदा आउँछु भनेर ढाँटे । तर मंगलबार विहान फोन गर्दा त बागलुङ हिंडे भनेर पो जवाफ दिए’–उनले भने । उनले यस्ता मन्त्री र कर्मचारीले किसानको भलो नगर्ने बताए ।

प्रदेश अध्यक्ष श्रीसले घुस र कमिसन खुवाउने किसानको निगरानी गर्न बाख्रापालक किसानलाई आग्रह गरे । ‘मन्त्री र कर्मचारीकोमा जो किसान कुखुरा र पैसा लिएर जान्छ त्यसको निगरानी गर्नूस्, त्यस्तालाई रंगेहात भेट्दा कालोमोसो दलेर बजार घुमाउनूस्’–उनले निर्देशन दिए ।

महासंघका केन्द्रीय अध्यक्ष प्रेम सागर पौडेलले वर्तमान सत्ताले किसानलाई हेयको दृष्टिले हेरेको आरोप लगाए । ‘किसानले उत्पादन नगरे उनीहरुले खानै पाउँदैनन् । तर किसानलाई उनीहरुले हेपेका छन्, हेयको दृष्टिकोणले हेर्छन्’–उनले भने । किसान भगवान भएको बताउँदै उनले थपे,‘मान्छे भगवान भनेर चित्र र ढुंगालाई पुज्छन् । तर विहानै दैलोदैलोमा दूध पु¥याउने, अन्नपातदेखि प्राण धान्ने सबै उत्पादन गर्ने किसान नै साक्षात भगवान हो ।’ उनले किसानलाई न्याय नगर्ने सरकार बुख्याँचा भएको टिप्पणी गरे । ‘सरकारलाई किसानको पक्षमा के गर्ने, के नगर्ने भन्ने नै थाहा छैन । खाली विदेशबाट खाद्यान्न ल्याएको छ, परनिर्भरता बढाएको छ, यस्तो सरकार बुख्याँचा (कठपुतली)बाहेक केहि होइन’–उनले भने ।

अध्यक्ष पौडेलले अबपनि कृषिलाई नजोगाउने हो भने नेपाल र नेपालीको भविष्य धरापमा पर्ने चेतावनी दिए । सबै मिलेर कृषिलाई जोगाउनुपर्ने र त्यसका लागि सहर पसेकालाई गाउँ तथा विदेश गएकालाई स्वदेश फर्काउनुपर्नेमा उनले जोड दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।