बाह्र लाख जरिवाना तोकिएका व्यक्ति जेल चलान


     एभरेस्ट आवाज    
     माघ ७ गते २०७८ मा प्रकाशित




साङ्केतिक तस्विर

बैंकिङ कसुरमा दोषी ठहर भई १२ लाख जरिवाना तोकिएका एक व्यक्ति आज जेल चलान भएका छन् । दोलखा घर भई काठमाडौँको गोकर्णेश्वर नगरपालिका–३ बस्ने ४३ वर्षीय जीतेन्द्रबहादुर रिजाललाई पक्राउ गरी आज काठमाडौँ जिल्ला अदालतमा पेश गरिएकामा अदालतले आजै उनलाई कारागार चलान गरेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार आफ्नो बैंक खातामा पर्याप्त रकम नभएको भन्ने जानीजानी जाहेरवालालाई झुक्यानमा पारी बैंकको चेक काटी दिएकामा बैंकिङ कसूरजन्य अपराध गरेको ठहर भएको हो ।

उनलाई विसं २०७६ मा उच्च अदालत पाटनले बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम दुई दिन कैद र रु बाह्र लाख जरिवाना हुने फैसला सुनाएको थियो । त्यसपछि फरार रहेका रिजाललाई ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलास एवं पक्राउका लागि परिचालित टोलीले बिहीबार काठमाडौँबाट पक्राउ गरेको थियो ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।