सहुलियतमा कर्जा पाउन थालेपछि कृषि तथा पशुपालन गर्ने किसानमा उत्साह


     एभरेस्ट आवाज    
     माघ ८ गते २०७८ मा प्रकाशित




पाल्पा । स्वदेशमै उद्यमशीलता विकास गर्ने उद्देश्यले तानसेन नगरपालिकाले कृषि तथा पशुपालन गर्ने किसानलाई सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराएको छ । कृषि क्षेत्रको व्यवसायीकरण, यान्त्रिकीकरण र आधुनिकीकरणका लागि तानसेन नगरपालिकाको सिफारिसमा ग्लोबल आइएमई बंैक तानसेन शाखाले २७ व्यवसायीलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराएको हो ।

तीमध्ये महिला व्यवसायीलाई चार प्रतिशत र पुरुष व्यवसायीलाई पाँच प्रतिशत ब्याजदरमा सो कर्जा उपलब्ध गराएको नगरपालिकाले जनाएको छ । तानसेन नगरपालिका, ग्रामीण आर्थिक विकास सङ्घ रेडा, हेफर प्रोजेक्ट नेपालको सहयोगमा कृषि तथा पशुपालन गरेका उद्यमीलाई सहुलियत ब्याजदरको कर्जाका लागि नगरपालिकाद्वारा सिफारिस भई आएकामध्ये बैंकले रु तीनदेखि नौ लाखसम्म कर्जा उपलब्ध गराएको बैंकका वीरबहादुर सारुले बताए ।

सस्तो ब्याजदरका कर्जा पाएपछि किसानहरु खुसी भएका छन् । तानसेन बौघागुवाका लक्ष्मण थापाले रु नौ लाख सहुलियत ब्याजदरमा कर्जा पाएपछि खुसी बनेका छन् । ग्रामीण क्षेत्रमा पशुपालन गर्ने किसानहरुलाई यति धेरै मात्रामा कर्जा पाउँदा थप हौसला मिलेको उहाँको भनाइ छ । तानसेन नगरपालिकाका नगरप्रमुख अशोककुमार शाहीले युवाहरुलाई व्यावसायिक उत्पादनमा लगाउन सहुलियत ब्याजदरमा कर्जा प्रदान गर्न थालिएको बताए । युवाहरुलाई आर्थिक रुपले सम्पन्न बनाउन कृषि र पशुपालनका क्षेत्रमा थप आकर्षित गर्न खाँचो रहेको उनले बताए ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।