
पोखरास्थित महत्वपूर्ण पर्यटकीय गन्तव्य फेवाताल किनारबाट अर्को पर्यटकीयस्थल सराङकोटडाँडा जोड्ने गरी निर्माण गरिएको केबुलकार यही फागुन आजदेखि व्यावसायिक सञ्चालनमा आउने भएको छ।
अन्नपूर्ण केबुलकार प्रालिले निर्माण गरेको पोखरा महानगरपालिका–१८ को सेदीबाट सराङकोटसम्म २ हजार २६५ मिटर लामो ‘अन्नपूर्ण केबुलकार’को व्यावसायिक सेवा शुभारम्भ गर्न लागिएको हो।
आगामी नयाँ वर्षमा ‘ग्राण्ड लञ्चिङ’ गर्ने र हालका लागि ‘सफ्ट लञ्चिङ’मार्फत बिहान १० बजेदेखि साँझ ४ बजेसम्म व्यावसायिक सञ्चालन हुनेछ ।
स्वदेशी तथा विदेशी पर्यटक धेरै आउने पोखरामा पर्यटनको एउटा नयाँ ‘ब्राण्ड’ थपिएको हो। अङ्ग्रेजी नयाँ वर्षका दिनदेखि व्यावसायिक सञ्चालनको योजना रहे पनि प्राविधिक समस्याका कारण ढिलाइ भएको हो। केबुलकार सञ्चालनमा आएसँगै फेवातालको किनारबाट झण्डै ९ मिनेटमा सराङकोट पुग्न सकिने कम्पनीले जनाएको छ। अहिले फेवातालबाट सराङकोट जान गाडीमा करिब ३५ देखि ४५ मिनेट समय लाग्छ । केबुलकारको तल्लो स्टेशन समुद्र सतहदेखि ८२४ मिटरमा रहेकामा माथिल्लो स्टेशन एक हजार ४६५ मिटर रहेको छ।
प्राकृतिक सुन्दरताले भरिएको पोखरामा केबुलकार पर्यटकको नयाँ गन्तव्य र रोजाइ बन्नेछ। प्राकृतिक सुन्दरताले विश्वमा नै ख्याति कमाएको सहरमा नयाँ गन्तव्यले पर्यटकको बसाइ लम्बाउन र थप पर्यटक भित्र्याउन सहयोग पुग्ने विश्वास लिइएको छ। केबुलकार सञ्चालनपछि सुन्दर फेवाको किनारबाट केबुलकारमा चढेर ताल र हिमाल हेर्दै सराङकोट डाँडामा पुग्ने अवसर पर्यटकले पाउनेछन्। सराङकोट सूर्योदय र सूर्यास्तसहित हिमाल र तालको दृश्यावलोकनका लागि प्रख्यात छ। केबुलकारमा हालसम्म २ अर्ब लगानी भएको छ।
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण रोक्न जारी बन्दाबन्दीका कारणले पनि परियोजना सम्पन्न हुन ढिलाइ भएको र लागत बढेको हो। केबुलकारमा जडान गरिएका उपकरण र प्रविधि पछिल्लो समयमा विकास भएको आधुनिक भएको बताइन्छ। जापानको ‘निप्पल केबुल’ कम्पनीबाट डिजाइन र विकसित प्रविधिलाई प्रयोगमा ल्याइएको छ । केबुलकारमा पोखरा र काठमाडौँका प्रतिष्ठित व्यवसायीको लगानी छ। कम्पनीले नेपालीका लागि रु. ७००, सार्क राष्ट्रका पर्यटकका लागि रु. ८०० र तेस्रो मुलुकका नागरिकका लागि ९ डलर भाडादर तय गरिएको छ। ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका लागि भाडामा ५० प्रतिशत छुटको व्यवस्था छ । स्थानीयवासीबाट २५ प्रतिशत र विभिन्न व्यवसायीबाट ७५ प्रतिशत आयोजनामा लगानी गरिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । गण्डकी प्रदेशमा नसर्ने रोगका बिरामीको संख्या बढ्दै गएको तथ्याङ्क सार्वजनिक…






