बागलुङ । बागलुङको बलेवा क्षेत्रका व्यावसायिक दुग्ध उत्पादक किसानले चार महिनादेखि दूधको भुक्तानी पाएका छैनन् । बागलुङ नगरपालिका–१२ को कालीगण्डकी, नवनमूना, वडा नं १४ को नारायणस्थान र जैमिनी नगरपालिका–१ कुश्मीशेराको पल्लोपाखाका दुग्ध उत्पादक सहकारीले मङ्सिर महिनायताको भुक्तानी नगरेका हुन् ।
त्यहाँका चारवटै सहकारीले बिक्री केन्द्र गठन गरेर सोही केन्द्रमार्फत बजारमा दूध पठाउने गरेका छन् । स्थानीय बजारमा दूध बिक्री नभएको भन्दै पोखराको लभकुश डेरीलाई दूध बिक्री गर्दै आएका संस्थाले डेरीले पैसा नदिएको भन्दै किसानको पैसा भुक्तानी नगरेका हुन् । सहकारीमार्फत बिक्री हुँदै आएको दूधको भुक्तानी समयमा नपाउने यो नयाँ घटना भने होइन ।
गत वर्षसमेत बागलुङ र पर्वतका डेरी पसलले भुक्तानी नदिएको बहानामा किसानको दूधको भुक्तानी रोकिएको थियो । बागलुङ र पर्वतमा बिक्री गर्दा समस्या भएको भन्दै पोखराको डेरी पसललाई दूध उपलब्ध गराएका सहकारीले यो वर्ष पनि किसानलाई समयमा भुक्तानी दिन नसकेका हुन् । बिक्रीबाट आउने रकम भुक्तानी नपाउँदा किसानलाई दैनिकी चलाउन कठिन भएको बागलुङ–१२ का किसान बाबुदेव पौडेलले बताए । सहकारीले भने बिक्री केन्द्र र लभकुश डेरीले पैसा रोकेका कारण किसानलाई भुक्तानी दिन नसकेको बताउँदै आएका छन् ।
“हामीले दूध दिएको पोखराको लभकुश डेरीले मङ्सिरदेखिको पैसा दिएको छैन, पैसा आए हामी रोक्दैनौँ”, कालीगण्डकी दुग्ध उत्पादक सहकारीका अध्यक्ष कृष्णप्रसाद लामिछानेले भने “हाम्रो किसानको भुक्तानी रोक्ने कुनै मनसाय होइन, हामी पनि किसान हौँ, बजारमा समस्या भएकाले रोकिएको हो ।” लभकुश डेरी पोखराले महामारीका समयमा बजारमा बिक्री भएको भुक्तानी पाउन बाँकी रहेको भनेर समयमा भुक्तानी नदिएको लामिछानेले बताए ।
लभकुश डेरी पोखराले भने सहकारीलाई दिने रकमका विषयमा हिसाब हेरेपछि मात्रै थाहा हुने बताएको छ । “के कति बाँकी छ हिसाब नहेरी थाहा हुँदैन”, डेरीको लेखा शाखामा काम गर्ने वैकुण्ठ ढुङ्गानाले भने । सहकारीले डेरीकातर्फबाट रु ४० देखि ४५ लाख पाउन बाँकी रहेको एक सदस्यले बताए । दैनिक दूध गइरहेको र भर्खरै मात्र दूधको मूल्य बढेकाले पाउनुपर्ने रकम तलमाथि हुने उनले बताए । त्यहाँका सहकारीले दैनिक एक हजारदेखि एक हजार ५०० लिटर दूध पोखरा, कुश्मा र स्थानीय बजारमा बिक्री गर्दै आएका छन् ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







