अनुदान बापत ट्याङ्कर पाएपछि दुग्ध उत्पादक किसानहरु खुसि


     एभरेस्ट आवाज    
     फागुन २५ गते २०७८ मा प्रकाशित




जुम्ला । पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाले अनुदानमा ट्याङ्कर उपलब्ध गराएपछि त्यहाँका दुग्ध उत्पादक किसानलाई सहज भएको छ । कार्यालयले ५० प्रतिशत अनुदानमा हिमाली डेरी उद्योगलाई ट्याङ्कर उपलब्ध गराएसँगै दूध बोकेर बजारसम्म लैजानुपर्ने बाध्यता हटेको छ । एक हजार लिटरसम्म दूध बोक्न सक्ने क्षमताको ट्याङ्कर उपलब्ध गराइएको हो ।

यसले यहाँको दूध उत्पादन बढाउन प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ । कार्यालयले ५० प्रतिशत अनुदानमा ट्याङ्कर उपलब्ध गराएपछि किसान निकै उत्साहित भएका छन् । डेरी उद्योगका सञ्चालक मनकोइला धितालका अनुसार रु ३२ लाख ९५ हजारमा ट्याङ्कर आइपुगेको हो । किसानले एक ठाउँमा दूध सङ्कलन गरेर राखेमा गाउँमै पुगेर दूध सङ्कलन गर्न सकिने डेरी सञ्चालक धितालले अहिले नाग्म, कुडारी, लाम्रा र बजार क्षेत्रका दूध डेरीमा सहजै रूपमा पु¥याउने काम भइरहेको बताए।

सदरमुकाम खलङ्गाभित्र र बाहिरको गरी नौवटा डेरीमा दूध पुग्ने गरेको सञ्चालक धितालले बताउनुभयो । ट्याङकर पुग्दा १० जनाले रोजगारी पाएका छन् । एक महिनामा झन्डै रु ६ लाखको दूध बिक्री हुने गरेको हिमाली डेरी उद्योगले जनाएको छ । कार्यालयका प्रमुख गोविन्द महतका अनुसार पछिल्लो समय किसान दूध उत्पादनमा हौसिएका छन् ।

ट्याङ्कर खरिद गर्ने कार्यक्रम जुम्लाका लागि नयाँ कार्यक्रम हो । अब ट्याङ्करले दूध उत्पादक किसान र डेरीसँगको समन्वय निकै प्रगाढ बनाउने छ । दूध बिक्री भएन भन्ने किसानको गुनासो सुन्नुपर्ने छैन । सदरमुकाम खलङ्गामा पाँचवटा डेरी उद्योग सञ्चालनमा छन् । बजार विस्तार भएसँगै दूधको माग अत्यधिक हुने गरेको यहाँका डेरी उद्योगका सञ्चालक बताउँछन् ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।