बजारका होटल व्यवसायी भन्छन् : लेकसाईडले चौविसै घण्टा खोल्दा हामीले किन नपाउने ?


     एभरेस्ट आवाज    
     फागुन २८ गते २०७८ मा प्रकाशित




पोखरा, फागुन २८

पोखराको बजार क्षेत्रका व्यवसायीहरुले लेकसाइडमा जस्तै बजार क्षेत्रमा पनि रात्रीकालीन व्यवसाय गर्न पाउनुपर्ने माग गरेका छन् । पृथ्वी होटल व्यवसायी समितिको शनिबार भएको नवौं साधारण सभा तथा पाचौं अधिवेशनमा बोल्ने वक्ताहरुले बजार क्षेत्रमापनि लेकसाइडमा जस्तै चौविसै घण्टा खुल्ला गरिनुपर्नेमा जोड दिएका हुन् । लेकसाईड र बजार क्षेत्रका व्यवसायी बिच सरकारदेखि राज्यका सरोकारवाला निकायहरुले विभेद गरेको उनीहरुको गुनासो थियो ।

कार्यक्रममा बोल्दै पृथ्वी होटल व्यवसायी समितिका संस्थापक अध्यक्ष रिजन शेरचनले राज्यले फेवा लेकसाइडलाई काखा र अरुलाई पाखा गरेको आरोप लगाए । लेकसाईडमा रातभर व्यवसाय गर्न पाउने ? बजार क्षेत्रका हामीले किन नपाउने ? उनले प्रश्न गर्दै भने,‘हामीमाथि अन्याय भयो । हामीलाई न्याय चाहियो । प्रदेशले हामीलाई न्याय देओस् ।’ उनले पर्यटन प्रवद्र्धनलगायतका लागि आएको बजेटपनि लेकसाइडलाई मात्रै दिने गरेको भन्दै गुनासो गरे ।

होटल व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष केपी पाध्याले लेकसाइडलाई चौविसै घण्टा खोल्न दिने हो भने आफूहरुले पनि खोल्न पाउनुपर्ने बताए । ‘लेकसाईडलाई चौविसै घण्टा खोल्न दिने अनि हामीलाईचाहिं ८ बजे नै बन्द गराउने ? हामीलाईपनि चलाउन दिनुपर्छ’–उनले भने । उनले लेकसाईडको दादागिरीमा बजार क्षेत्रका अन्य होटल तथा रेष्टुरेण्ट व्यवसायीलाई पर्यटन क्षेत्रसमेत नमान्ने गरेकोप्रति आपत्ति जनाए । ‘पर्यटकलाई सेवा दिने होटल, रेष्टुरेण्ट लेकसाईडको होस् कि बजार क्षेत्रका, सबै पर्यटन व्यवसाय हो । त्यसैले प्रदेशले ल्याउन लागेको पर्यटन विधेयक हामीलाई समेट्नेगरी आओस्’–उनले भने ।

नीजि क्षेत्रको छाता संस्था पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष अर्जुन पोखरेलले पनि लेकसाईडलाई मात्रै पर्यटकीय केन्द्र मान्ने केन्द्रीकृत मानसिकताबाट बाहिर निस्केर समग्र पोखरालाई नै पर्यटकीय हब बनाउनुपर्ने बताए । उनले भने,‘लेकसाईड बाहिरपनि यतिधेरै लगानी छ तर राज्यले चिन्न नसकेको हो कि किन हो ? लेकसाईडलाई मात्रै केन्द्र मान्ने मानसिकताबाट मुक्त हुन जरुरी छ ।’

होटल व्यवसायी महासंघ गण्डकी प्रदेश अध्यक्ष अर्जुन चोखालले लेकसाईडबाहेक अन्य क्षेत्रकालाई राज्यले पर्यटन व्यवसायी नदेख्नु दुःखद भएको बताए । ‘हामीपनि लेकसाईडका जस्तै पर्यटन व्यवसायी हौं तर हाम्रो पहुँच छैन । हामीलाई नत नीजि क्षेत्र, नत राज्यले नै मञ्च र स्थान उपलब्ध गराउँछ’–उनले भने ।

समितिका अध्यक्ष हरिप्रसाद पाण्डेले विगतमा क्षेत्रगत रुपमा विभेद भएपनि आगामी दिनमा नदोहो¥याउन ध्यानाकर्षण गराए ।

पृथ्वी होटल व्यवसायी समितिका निवर्तमान अध्यक्ष तथा घरभाडा सरोकार समिति नेपालका अध्यक्ष कमलप्रसाद न्यौपानेले कोरोनाको महामारी कालमा घरभाडाको समस्या विकराल भएर आएको बताए । यद्वपी घरधनी र व्यवसायीबीच समस्या समाधानका लागि सक्दो पहल गरेको उनको भनाई थियो ।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदीले लेकसाईडलाई मात्रै राज्यले प्राथमिकता दिनु विडम्वना भएको बताए । उनले बजार क्षेत्रका व्यवसायपनि लेकसाईड भन्दा कम छैन भन्ने बनाएर बलियो उपस्थिति देखाउन सुझाव दिए ।

व्यवसायीको कुरा गम्भीर भएर सुनेका गण्डकी प्रदेशका उद्योग, पर्यटन, वाणिज्य तथा आपूर्ती मन्त्री मणिभद्र शर्मा कँडेलले कसैलाई काखा र कसैलाई पाखा गर्ने सरकारको नीति नभएको बताए । काठमाडौं, लेकसाईडमाजस्तै तपाईंहरुपनि चौविसै घण्टा सेवा दिन सक्नुहुन्छ,उनले भने,‘तर तपाईंहरुले छिमेकीको निन्द्रा नबिथोलिने गरी सञ्चालन हुने व्यवस्था गर्नूस्, काठमाडौं, लेकसाईडले पाउने, तपाईंहरुले नपाउने हुन सक्दैन ।’ उनले पर्यटन विधेयकमा साना तथा बजार क्षेत्रका व्यवसायीलाईसमेत सम्बोधन गर्न आफूहरु तयार रहेको बताए । ‘त्यका लागि के गर्नुपर्ने हो ? हामीलाई भन्नूस्, हामी समन्वय, सहकार्य गर्न तयार छौं’–उनले भने ।

मन्त्री शर्माले पर्यटन व्यवसायी मारमा भएपनि सहयोग गर्न नपाएकोमा क्षमा मागे । उनले भने,‘विदेशमा महामारीका बेला व्यवसाय घाटामा गयो भने घाटा पूर्ति गर्न सरकारले सहयोग गर्छ, त्यो देख्दा त्यो पो हो सरकार, यहाँपनि त्यसरी नै सहयोग गर्न पाए पो भन्ने लाग्छ ।’ तर यहाँको सरकारको परिस्थिति र बजेट त्यसअनुरुप नभएकाले सहयोग गर्न नसकेको उनको भनाई थियो । यद्वपी सकेजति भने मन फुकाएर गर्ने कोशिष गरिरहेको उनले बताए ।

पृथ्वी होटल व्यवसायी समितिमा पोखरा आसपासका करीब २ सय होटलहरु आबद्ध छन् । समितिको अधिवेशनले नया नेतृत्व चयन गर्नेछ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।