२३६ किसानलाई नगरपालिकाद्धारा अनुदान


     एभरेस्ट आवाज    
     चैत्र १ गते २०७८ मा प्रकाशित




साङ्केतिक तस्विर

बागलुङ । पशुपन्छी तथा माछापालन गरिरहेका बागलुङका २३६ किसानले अनुदान पाएका छन् । बागलुङ नगरपालिकाले पशुपन्छी तथा माछापालन गरेर गुजारा चलाउँदै आएका २३५ किसान र एक सहकारीलाई एकै पटक अनुदान रकम उपलब्ध गराएको हो ।

बागलुङ नगरपालिका–४ ओडारचौरमा रहेको श्री कृष्ण गाई भैँसी फार्म उद्योगमा २०० किसान जम्मा गरेर नगरपालिकाको पशु शाखाले किसानलाई नगद तथा चेक सोमबार उपलब्ध गराएको हो । दूध तथा मासुको उत्पादन बढाउनका लागि पाडापाडी संरक्षण कार्यक्रमअन्तर्गत १४ किसान र एक सहकारीले हुर्काइरहेका पाडापाडीका लागि अनुदान उपलब्ध गराइएको छ ।

अनुदान पाउने एकमात्रै सहकारी वडा नं ११ को जैविक कृषि सहकारी हो । प्रतिपाडापाडी रु १० हजारका दरले किसानलाई अनुदान उपलब्ध गराइएको हो । श्री कृष्ण गाईफार्मले मात्रै १८ वटा पाडापाडी एकै ठाउँमा हुर्काइरहेको छ । त्यस्तै मासुकै उत्पादनको लागि १०० किसानले अनुदान पाएका छन् । प्रतिबाख्रा रु छ हजारका दरले किसानले अनुदान पाएका हुन् ।

कुखुरापालन गरेर खर्च चलाइरहेका ४२ किसानले रु चार हजार ३०० का दरले अनुदान रकम पाएको पशु शाखाका प्रमुख शशीधर शर्माले बताए । बङ्गुरपालन गरेका ३६ किसानलाई रु छ हजारका दरले अनुदान रकम उपलब्ध गराइएको छ । माछापालनमा सहभागी किसानले प्रतिपोखरी पुरानोले मर्मत खर्च रु १० हजार र नयाँ पोखरीका लागि रु २५ हजारका दरले अनुदान पाएका छन् ।

४३ वटा माछापोखरीका लागि अनुदान उपलब्ध गराइएको उनले बताए। किसानको प्रोत्साहनका लागि घर घरमै पुगेर व्यवसाय जाँच गरेपछि अनुदान उपलब्ध गराइएको उनले बताए । बागलुङ नगरपालिकाको रु १० लाख र नेपाल सरकारको थप रु १५ लाख गरी नगरले एकैपटक रु २५ लाख किसानको हातमा पु¥याएको हो ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।