जारको खानेपानीको मूल्य दोब्बर बढाएपछि डिलर व्यवसायी आन्दोलित


     एभरेस्ट आवाज    
     चैत्र १ गते २०७८ मा प्रकाशित




पोखरा, चैत १

जारको खानेपानीको मूल्य नबढाउन माग गर्दै पानी (वाटर) व्यवसायी डिलरहरु आन्दोलित भएका छन् । नेपाल वाटर व्यवसायी संघले जारको खानेपानीको मूल्य बढाएपछि पोखराका पानी व्यवसायी डिलरहरु आन्दोलित भएका हुन् ।

नेपाल वाटर व्यवसायी संघले जारको खानेपानी प्रति जार १५ रुपैयाँ वृद्धि गरेको थियो । यसअघी कम्पनीबाट पानी खरिद गर्दा प्रति जार २० रुपैयाँ पर्ने खानेपानीको मूल्य बढाएर संघले ३५ रुपैयाँ कायम गरेको छ । साथै संघले एक कम्पनीको पानी बोक्ने गाडीले अर्को कम्पनीको पानी बोक्न नपाउने नियम बनाएको छ ।

संघले जारको पानीको मूल्यसँगै फरक कम्पनीको पानी बोक्न नपाउने नियम बनाएपछि पानी व्यवसायी डिलरहरु त्यसको विरोधमा उत्रिएका छन् । विरोध स्वरुप उनीहरुले मंगलबार साँझ पोखरामा जारको पानी बोकेका गाडीसहित प्रदर्शन गरेका छन् । पोखराको अमरसिंहचोकबाट शुरु भएको विरोध प्रदर्शन नयाँबजारस्थित प्रदर्शनी केन्द्रसम्मै गाडी तेर्साएर गरिएको थियो ।

नेपाल वाटर व्यवसायी संघले सिण्डिकेट लगाएपछि आफूहरु आन्दोलनमा उत्रिनु परेको आन्दोलनका अगुवा तथा पेनगुइन पानी उत्पादन बेच्दै आएको टिके सप्लायर्सका सञ्चालक पुरुषोत्तम कँडेलले बताए । ‘हिजोसम्म २० रुपैयाँ थियो प्रति जारको पानी, आज बढाएर ३५ रुपैयाँ पु¥याइएको छ, अनि एउटा कम्पनीको पानी बेच्नेले अर्को कम्पनीको पानी बेच्नै नपाउने मात्रै होईन गाडीमा राख्नै नपाउने नियम बनाइएको छ । यो सिण्डिकेटको विरोध स्वरुप हामी आन्दोलित भएका हौं’–उनले भने । उनले कम्पनीले नै ३५ रुपैयाँ लिएपछि आफूहरुले ७० रुपैयाँमा पसलेलाई बेच्नुपर्ने र पसलेले उक्त जारको पानी एक सय रुपैयाँमा बेच्नुपर्ने अवस्था आएको बताए । त्यसैले जनताको हितका लागि आफूहरु आन्दोलित भएका उनको जिकीर छ ।

कँडेलले मूल्यवृद्धि फिर्ता र सिण्डिकेटको अन्त्य नभएसम्म आन्दोलन जारी राख्ने बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।