‘घरभाडा कर नबढाऊ, दायरा बढाउ’


     एभरेस्ट आवाज    
     चैत्र ६ गते २०७८ मा प्रकाशित




पोखरा, चैत ६

घरबहाल सरोकार महासंघले एकीकृत बहाल क्षेत्र संरक्षण कानून निर्माण गर्न माग गरेको छ । महासंघको पोखरामा बसेको दोश्रो बैठकले संघ, प्रदेश र स्थानिय तहलाई समेटेर एकीकृत बहाल क्षेत्र संरक्षण कानून निर्माण गर्दै कार्यान्वयन गर्न माग गरेको आइतबार पोखरामा पत्रकार भेटघाट गरि जानकारी गराएको हो । महासंघले बहाल आयोग, बहाल विभाग, बहाल ईजलाश, स्थानिय बहाल समन्वय संस्थाको प्रतिनिधित्वको सुनिश्चितता गर्न माग गरेको छ ।

महासंघले बहालमैत्री वातावरण तयार गर्न बहालको नीति निर्माण, मापदण्ड तयार गर्ने, मनासिव बहाल दर निर्धारण, बहाल क्षेत्रलाई व्यवसायीक दर्ता प्रमाणको व्यवस्था, बहाल सम्झौता दर्ता प्रमाणिकरणको व्यवस्था गर्न माग गरेको छ । त्यस्तै, तथ्यमा आधारित बहाल सम्झौता कायम गर्ने र नागरिक स्वीकार्य २ प्रतिशत बहाल दर निर्धारण गर्न भनेको छ । यसो गरेमा हालको भन्दा २० गुणा बढी कर संकलनमा वृद्धि हुने महासंघको दाबी छ ।

महासंघले असमान र अव्यवहारिक बहाल दर निर्धारणको अन्त्य, विषम परिस्थितिमा जबरजस्त घर निकाला, बिना कसुर, बदनियतपूर्वक, कानूनी आधार बिना कसैलाई बसोबास स्थलबाट निकाला गरेमा उचित क्षेतिपूर्ति दिलाउने, बहाल समस्या सम्बन्धित निकायसँग समन्वय गरि समाधान गर्न कानूनी डेस्क तथा मेलमिलाप केन्द्र सञ्चालन गर्न माग गरेको महासंघका केन्द्रीय अध्यक्ष बलभद्र खनालले जानकारी दिए ।

यसैगरी महासंघले बहाल निर्धारण गर्दा, क्षेत्रगत आाधार, सुविधा र पहुँच, बसोबास, व्यवसायीक, औद्योगिक रोजगारदाता क्षेत्र, सहरी, मध्यम सहरी, ग्रामिण सहरी तथा ग्रामिण क्षेत्र वर्गिकरण गरी स्क्वायर फुटको आधारमा बहालदर निर्धारण गर्ने निर्णय गरेको उनले बताए । बहाल बृद्धिदर तथा निश्चित अवधीमा बहालदर समायोजन सुविधा दिनपनि माग गरेको उनले जानकारी दिए ।

महासंघले घरबहालमा रहेकाहरुको तथ्याङ्क संकलन गर्न माग गरेको छ । जस अनुसार घरधनी, बहालमा लिई निजी बसोबास गर्ने, नीजि सेवा प्रदायक, असंगठित क्षेत्र, विद्यार्थी, कृषक, मजदुर, श्रमिक, व्यापारी, उद्योगी, बैंक तथा वित्तिय संस्था, विद्यालय, हस्पिटल, सहकारीसमेतको छुट्टाछुट्टै तथ्याङ्क संकलन गर्न माग गरेको उनले बताए ।

महासंघले बहालकर घरधनीबाट लिने कानून भएपनि कार्यान्वयनमा नआएको भन्दै त्यसलाई कार्यान्वयन गर्न माग गरेको छ । उसले घरबहाल कर नबढाउन माग गरेको छ । बरु घर बहाल करको दायरा बढाउन महासंघको सुझाव दिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।