गल्याङ नगरपालिकाले मासुमा अनुदान दिदैँ


     एभरेस्ट आवाज    
     चैत्र १७ गते २०७८ मा प्रकाशित




स्याङ्जाको गल्याङ नगरपालिकाले मासुनमा अनुदान दिने भएको छ।

नगरपालिकाका प्रमुख भुपराज अधिकारीले मासुमा अनुदान दिने बताएका हुन्।

गल्याङमा बुधबार भएको नेपाल व्यवसायिक बाख्रापालक महासंघ, स्याङ्जाको दोश्रो जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा किसानले मासु वा मासुजन्य वस्तुको विक्रि गरेको आधारमा मासुमा अनुदानको व्यवस्था गर्न लागिएको बताए।

कृषकले मासुजन्य वस्तुको उत्पादन गरेका आधारमा अनुदानको व्यवस्था गर्न लागिएको बताएका हुन्। मासुमा उत्पादनका आधारमा अनुदान दिन कार्यविधि बनाउन लागिएको नगरप्रमुख अधिकारीको भनाइ थियो।

नगरप्रमुख अधिकारीले भने, ‘दुधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान दिए जस्तै मासुमा पनि निश्चित रकम तोकेर प्रतिकिलोमा अनुदान दिने गरी कार्यविधि बनाउँदैछौं।’

उत्पादनका आधारमा अनुदानको व्यवस्था गर्दा दुःख गर्ने किसानसामु अनुदान पुग्ने भन्दै नगरप्रमुख अधिकारीले कागजपत्र मिलाएर अनुदान लिने तथा आफ्नालाई मात्रै अनुदान दिने अवस्थाको अन्त्य गर्ने अभियानमा आफू रहेको उल्लेख गरे।

नगरप्रमुख अधिकारीले निर्वाचित प्रतिनिधि सबैको साझा हुने भएकाले अनुदान तथा अन्य कामहरुमा भेदभाव गर्न नहुनेमा उनले जोड दिए।
नेपाल व्यवसायिक बाख्रापालक महासंघको जिल्ला अधिवेशन गल्याङमा भएकोमा आफू हर्षित भएको भन्दै उनले किसानका लागि गर्नुपर्ने कामका लागि आवश्यक सुझाब दिन महासंघसँग आग्रह गरे।

कार्यक्रममा नेपाल व्यवसायिक बाख्रापालक महासंघका केन्द्रीय अध्यक्ष प्रेमसागर पौडेलले बाख्रापालन गर्ने क्रममा नै किसानहरुलाई अनुदान दिनुपर्ने बताए। उनले किसान सबैको भगवान भएकाले सबै पक्षले किसानलाई सम्मान गर्नुपर्नेमा जोड दिए। नेपाल व्यवसायिक बाख्रापालक महासंघका महासचिव अमृत तिवारीले युवाहरु कृषि क्षेत्रमा लाग्नुपर्ने बताए। उनले विदेशी भूमिमा परिश्रम गर्नुभन्दा स्वदेशमै कृषि क्षेत्रबाट आर्थिक अवस्था सुदृढ बनाउन सकिने उल्लेख गरे।

गल्याङ नगरपालिका पशु सेवा शाखा प्रमुख तथा नमूना बाख्रा गाउँ अभियानका अभियान्ता सुशिल अर्यालले बाख्रापालन गर्दा प्राविधिक पक्ष, दाना, घाँस लगायतमा ध्यान दिनुपर्ने बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।