भारतको रक्सौलाबाट काठमाडौँसम्म रेल सेवा विस्तार हुन्छ : मन्त्री यादव


     एभरेस्ट आवाज    
     चैत्र १९ गते २०७८ मा प्रकाशित




जनकपुरधाम । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले भारतको रक्सौलाबाट काठमाडौँसम्म रेल सेवा विस्तार हुने बताएकी छन् ।

जनकपुरधामस्थित रेल्वे स्टेशनमा आज आयोजित जयनगर–कुर्था रेल सेवा उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले भारतको रक्सौलबाट सिमरा र सिमराबाट काठमाडौँसम्म रेल सेवा विस्तार हुने बताइन् ।

“पहिलो चरणमा जयनगरबाट बिजलपुरासम्मको ७० किलोमिटर रेल्वे ट्याक्ट तयारी भइसकेको छ”, मन्त्री यादवले भनिन्, “अब हस्तान्तरण हुन मात्र बाँकी छ, हस्तान्तरण भएपछि बिजलपुरासम्म रेल चल्ने छ ।” यसका साथै विराटनगरबाट बर्दिबाससम्म पनि रेल सेवा विस्तार गर्ने तयारी भइरहेको मन्त्री यादवको भनाइ छ ।

यसरी रेल सेवाको विस्तार भएपछि नेपाल र भारतबीचको व्यापारिक सम्बन्ध अझै प्रगाढ बन्ने दाबी गर्दैै मन्त्री यादवले नेपाल र भारतबीच सरकार ऊर्जा, आर्थिक विकास र कन्टेक्टीभिटी विस्तारलाई जोड दिएको बताइन् ।

“जयनगरबाट कुर्थासम्मको रेल सञ्चालन भइसकेको छ”, मन्त्री यादवले भने, “रेल सञ्चालन भएपछि रेलको सुरक्षा र संरक्षण गर्ने हाम्रो धर्म हो, रेल चलाउने र संरक्षण गर्ने कार्यमा सबैले सहयोग गर्नुपर्छ”, उनले भनिन् ।

रेल चलेपछि नेपालको बेरोजगारीको अन्त्य हुनुका साथै आर्थिक विकास र समृद्धिमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्दै मन्त्री यादवले विकास र समृद्धिका लागि यातायात पूर्वाधार विस्तारलाई सरकारले प्राथमिकता दिएको बताइन् ।

कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले रेल सेवा सञ्चालनले मधेस प्रदेशको विकास र समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
सदिऔँदेखि रहेको नेपाल–भारत सम्बन्धलाई रेल सेवाले अझै प्रगाढ बनाउने विश्वास व्यक्त गर्दै मुख्यमन्त्री राउतले रेल सेवा सञ्चालनका लागि सङ्घीय सरकारले खेलेको भूमिकाको प्रशंसासमेत गरे ।

सो अवसरमा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले जयनगर–कुर्था रेल सेवा सञ्चालन भएसँगै जनकपुरधामको विकासमा महत्वपूर्ण योगदान पुग्ने बताए ।

नेपाल रेल्वे कम्पनी लिमिटेडका महानिर्देशक दीपककुमार भट्टराईले भोलि आइतबारदेखि दैनिक दुईपटक जयनगर–कुर्था रेल चल्ने जानकारी दिए ।

गत २०७७ असोज २ गते भारतीय कोकंण रेल्वे कम्पनीसँग रु ८४ करोड ६५ लाखमा खरिद गरेको रेलमा दुई सेट इन्जिनसहित १० वटा बोगी रहेको जानकारी दिँदै महानिर्देशक भट्टराईले रेलमा करिब एक हजार ३०० यात्रु बोक्न सक्ने क्षमता रहेको बताए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।